अबका कुनै चुनाव नलड्ने बागमतीका पूर्वमुख्यमन्त्री पौडेलको घोषणा

अबका कुनै चुनाव नलड्ने बागमतीका पूर्वमुख्यमन्त्री पौडेलको घोषणा


ग्लोब नेपाल
189
Shares

काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मंसिर ४ मा हुने निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताएका छन्।

मकवानपुरको १ बाट प्रतिनिधिसभाको सम्भावित उम्मेदवारको रूपमा चर्चा भइरहेका बेला पौडेलले फेसबुकमार्फत उक्त घोषणा गरेका हुन् । उनले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेकाले आफूले दोस्रो पुस्तालाई समर्थन गर्ने बताए। अहिले देशले साच्चै नै परिवर्तन खोजेको उल्लेख गर्दै उनले अब नयाँ पूस्तालाई उम्मेदवार बनाउनु र जिताउनु नै आफ्नो मुख्य जिम्मेवारी हुने उल्लेख गरे।

अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न नमिल्ने पौडेलले बताएका छन् । सामाजिक सञ्जालमा पौडेलले लेखेका छन् ‘अहिले देशले साच्चै नै परिवर्तन खोजेको छ । परिवर्तनका लागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा (एमाले) लाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरु एकजुट भएर लागि परेका छन् । यस्तो बेला आगामी निर्वाचनमा कस्ता खालका ब्यक्तिहरूलाई जिताएर पठाउने भन्ने नेपाली जनताको हातमा छ ।’

उनले राजनीति लहड, रहर र दबाब मात्रैले नचली आवश्यकताको वस्तुपरक मूल्यांकनले निर्धारण गरेका कडिहरूका आधारमा उमेद्वार चयन गर्न चुकियो भने परिणाम अनपेक्षित हुनसक्ने बताएका छन् ।

‘मेरो ५० औं वर्षको राजनीतिक अनुभवले बताउँछ । अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न मिल्दैन । त्यसैले आगामी निर्वाचनमा मेरो उमेद्वारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवा विद्यार्थी तथा पत्रकारहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी निर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उमेदवारी नरहने जानकारी गराउँदछु’, उनले भनेका छन्, ‘यो पटक जनचाहना अनुसार नयाँ पुस्तालाई मेरो समर्थन र सहयोग रहने छ । दोस्रो पुस्तामात्रै हैन अहिले नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेका छन् । अबको मेरो जिम्मेवारी नेकपा (एमाले) को उम्मेदवारहरूलाई विजयी गराउने हुनेछ ।’

यसअघि पौडेले मकवानपुरको क्षेत्र नंबर १ को ‘क’ बाट वागमती प्रदेशसभा सदस्यमा विजयी भएका थिए । उनले २०७४ साल माघ २९ गते वागमती प्रदेशको मुख्यमन्त्रीको सपथग्रहण गरेका थिए ।