विकासका बाँकी काम पूरा गर्न कांग्रेस नेतृत्व आवश्यक छ : प्रवक्ता डा. महत

विकासका बाँकी काम पूरा गर्न कांग्रेस नेतृत्व आवश्यक छ : प्रवक्ता डा. महत


ग्लोब नेपाल
81
Shares

नुवाकाेट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले नुवाकोटको लागि बाँकी रहेका पूर्वाधार विकास पूरा गर्न कांग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन् । नुवाकोटको लिखु गाँउपालिका–४ मा आज आयोजित ‘तिज विशेष कार्यक्रम’लाई सम्बोधन गर्दै प्रवक्ता डा. महतले कांग्रेस नेतृत्वमा यसअघि गरिएका विकासलाई संस्थागत गर्दै बाँकी योजना पूरागर्न आगामी निर्वाचनमा नुवाकोट क्षेत्र नं १ मा कांग्रेसको सक्षम व्यक्ति उम्मेदवारको रुपमा प्रस्तुत हुने बताएका हुन् ।

“यसअघि हामी (डा. रामशरण महतसमेत) योजना आयोग र मन्त्री हुँदा बनाएका झोलुङ्गे र मोटरेबल पुल, विद्यालय, स्वास्थ्य संस्थालाई समय अनुकूल सुधार र स्तरउन्नतीको काम पूरा गनै कांग्रेस नेतृत्व आवश्यक छ”, पूर्वमन्त्रीसमेत रहेका डा महतले भने, “शिक्षामा गुणस्तर, रोजगारको सुनिश्चित, आर्थिकरूपमा उपार्जनसहित बाह्रै महिना चल्ने कालोपत्रे सडकसहित छहरे–टोखा सुरुङ मार्गको अधुरा योजना पूरागर्न योग्यता, क्षमता, पहुँच, इमान र समपर्ण भएको व्यक्ति प्रतिनिधि हुनुपर्ने भएकाले त्यो कांग्रेसमा छ ।”

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. रामशरण महतले देशको अर्थतन्त्र खस्कदै गएकाले सुधार गरेर समृद्ध नेपाल निर्माण गर्न आगामी चुनावमा कांग्रेसलाई बहुमतले बिजयी गराउन आग्रह गरे । दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्दै गरिबी निवारणका लागि अहिले कमजोर बनेको अर्थतन्त्रमा सुधार आवश्यक रहेको उनकाे भनाइ छ ।

“सडक विस्तार र ऊर्जाको उत्पादन बढाउन सक्यो भने मुलुकलाई अर्थतन्त्रमा बलियो बनाउन सकिन्छ”, कांग्रेसका केन्द्रीय सदस्य डा महतले भने, “बहुदलीय व्यवस्था, जनताप्रति उत्तरदायी जनप्रतिनिधि भएर आफूले थालनी गरेको सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत कार्यक्रम यो बीचमा रोकिएको छ, त्यो पूरा गर्न नुवाकोटको क्षेत्र नं १ मा कांग्रेसको नेतृत्व अत्यावश्यक छ ।”

‘लिखु उद्यमी तथा सामाजिक संस्था स्थानीय सरोकार समिति’ आयोजक र लिखु गाँउपालिका सह–आयोजकको रुपमा लिखु–४ चौघडामा गरिएको कार्यक्रममा कांग्रेसका नेताद्वयले हरितालिका तीज पर्वलाई सबै जाती, समुदायको साझा पर्व र संस्कृतिको जर्गेना गर्ने गरेर भड्किलोरहित बनाउन सुझाव दिए । सो अवसरमा महिला तथा विद्यालयतहका छात्राले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।