प्रत्यक्ष र समानुपातिक उम्मेदवार २२ भदौभित्र सिफारिस गर्न एमालेको निर्देशन

प्रत्यक्ष र समानुपातिक उम्मेदवार २२ भदौभित्र सिफारिस गर्न एमालेको निर्देशन

समानुपातिकमा एक पटक मात्र अवसर !


ग्लोब नेपाल
270
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ भदौभित्र उम्मेदवार सिफारिस गरिसक्न तल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।

केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले बन्दसूचीमा पेस गरिने उम्मेदवारको नाम सिफारिस गर्न भनेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समानुपातिकको नाम सिफारिस गर्दा अवसरको न्यायोजित वितरण, सन्तुलन र समावेशी ढंगले पठाउनुपर्ने जानकारी दिए ।

जिल्लाले पठाउने निर्णय अन्तिम नभएकाले केन्द्रबाट हेरफेर हुने जानकारीसमेत दिए । त्यस्तै प्रत्यक्षतर्फका उम्मेदवारको सिफारिस गर्दा कम्तीमा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्नुपर्ने निर्णय गरेको छ । तर समानुपातिकतर्फ एक पटक अवसर पाएकाहरुलाई आम रुपमा नदोहोर्‍याउन भनिएको छ । ‘एक पटक अवसर प्रयोग गरेका नेता, कार्यकर्तालाई आम रुपमा दोहोर्‍याउनु हुन्न । यस्ता क्षेत्रमा पालैपालो प्रणाली अपनाउनुपर्छ’ उपमहासचिव गुरुङले भने ।

स्थानीय तहमा निर्वाचित भएकाहरुलाई पनि राजीनामा गराएर उम्मेदवार सिफारिस नगर्न भनिएको छ । त्यस्तै एमालेले पछिल्लो पटक भएका कुनै पनि निर्वाचनमा पराजित भएकाहरुलाई उम्मेदवार नबनाउन भनेको छ ।

अन्य पार्टीबाट प्रवेश गरेकाहरुको हकमा भने विशेष निर्णय गरिने गुरुङले जानकारी दिएका छन् ।