राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठायो ‘नागरिकता विधेयक’

राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठायो ‘नागरिकता विधेयक’


ग्लोब नेपाल
108
Shares

काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएर प्रतिनिधि सभाबाट हुबहु पारित भएको नागरिकता विधेयकलाई राष्ट्रिय सभा बैठकले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

आईतबार बसेको राष्ट्रिय सभाको बैठकले विधयान व्यवस्थापन समितिमा नागरिकता विधेयक पठाएको हो। बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सदनमै छलफल गर्नुपर्ने बताउँदै आएको सरकार र सत्तारुढ गठबन्धन पछाडि हटेपछि यो विधेयक विधायन व्यवस्थापन समितिमा पुगेको हो । समितिमा दफावार छलफलका लागि गएपनि सत्तापक्षको बहुमत रहेकाले प्रक्रिया पुर्‍याएर जस्ताको जस्तै पारित गर्ने तयारी रहेको स्रोतले बतायो । 

यो विधेयकमाथि अब राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ । विषयगत समितिले अब विधेयक पारित गरेर समितिको प्रतिवेदन सहित पुनः सभामा पेश गर्नेछ । समितिको प्रतिवेदन प्रस्तुत भएपछि त्यसको प्रतिवेदन सदस्यलाई वितरण गरिनेछ । अध्यक्षले अन्यथा आदेश दिएमा बाहेक समितिको प्रतिवेदन वितरण भएको चौबीस घण्टापछिको कुनै बैठकमा विधेयक अगाडि बढाउन सकिन्छ । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते ३ बजेका लागिका बालाइएको छ ।

प्रतिनिधि सभाले हुबहु पारित गरेको भन्दै राष्ट्रपतिले चित्त दुखाएकी थिइन् । राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधिसभामा पठाएपछि सभामुखले प्रमाणीकरण गरेर पुनः राष्ट्रपतिकोमा पठाउने छन् । राष्ट्रपटिबाट प्रमाणिकरण भएपछि विधेकले कानुनी मान्यता पाउनेछ ।