नेपालले केन्यालाई ४ विकेटले हरायो, शृंखलामा २-१ को अग्रता

नेपालले केन्यालाई ४ विकेटले हरायो, शृंखलामा २-१ को अग्रता


ग्लोब नेपाल
81
Shares

काठमाडौं । घरेलु टोली केन्याविरुद्ध सानदार ब्याटिङ गर्दै नेपालले तेस्रो टि२० आई खेलमा ४ विकेटको कीर्तिमानी जित हात पारेको छ । यो जितसँगै पाँच टि२० आई खेलको सिरिजमा नेपालले २-१ को अग्रता लिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएर पूरा गर्यो । यो नेपालले टि२० आईमा पूरा गरेको सर्वाधिक ठूलो योगफल हो । यसअघि नेपालले टि२० आईमा पूरा गरेको सर्वाधिक ठूलो योगफल २०१९ मा सिंगापुरविरुद्ध १ सय ५२ रन थियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । उनी प्लेयर अफ दि म्याच चुनिए । यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए । रोहित पौडेल २९ रनमा आउट हुँदा पवन सर्राफले २० रन बनाए । आदील अन्सारीले १६ रन जोड्दा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए ।

आरिफ शेख ४ रनमा अविजित रहदा करण केसी सुन्य रनमा अविजित रहे । केन्याका भिराज पटेल र युगिनी ओचिङले २/२ विकेट लिए । इमान्युएल बुन्डी र कोलिन्स ओबुयाले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले । पटेलले अविजित रहदै ७३ रन बनाए । उनले ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरेका करिम ५५ रनमा अविजित रहे ।

कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदिप सिंहले ८ रन जोडे । नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले १/१ विकेट लिए ।

नेपाल पहिलो खेलमा ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । चौथो खेल सोमबार र पाँचौं तथा अन्तिम खेल मंगलबार हुनेछ ।