अलग्गिँदै सोहेल र सीमा

अलग्गिँदै सोहेल र सीमा



मुम्बई । बलिउड अभिनेता सोहेल खान र उनकी पत्नी सीमा सजदेह अलग्गिने भएका छन् । विवाहको २४ वर्षपछि उनीहरुले अलग्गिने निर्णय लिएका हुन् । सीमा फेसन डिजाइनर हुन् । सोहेलसँग अलग्गिने विषयमा उनले पहिलोपटक मुख खोलेकी छन् ।

सोहेल र सीमाको पहिलो भेट सन् १९९८ मा फिल्म ‘प्यार किया तो डरना क्या’ को सेटमा भएको थियो । यसपछि दुवैले भागेर विवाह गरेका थिए । उनीहरुको निर्वान र योहान नामका दुई छोरा छन् ।

डिभोर्सको निवेदन दिनुअघि दुवैजना केही समयदेखि अलग्ग बस्थे । ‘मलाई जीवनमा अझै अगाडि बढ्नु थियो । त्यसकारण यो निर्णय लिएकी हुँ । मेरो भाई र बहिनी सबैलाई मेरो निर्णयबारे थाहा छ’, उनले भनेकी छन् ।

आफ्नो परिवारले आफ्नो कुरालाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्ने उनको बुझाई छ । उनले आफूले धेरै नकारात्मक कुरा छोडेको जनाउँदै आफू जीवनको चिन्ता नगर्ने स्थानमा पुगिसकेको दाबी गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा पनि आफ्नो नाम परिवर्तन गरेकी छन् । उनले सीमा किरण सजदेहा लेखेकी छन् ।