अढाई घण्टा भेटमा ओलीले रवीन्द्र मिश्रलाई भने– नआत्तिनु होला

अढाई घण्टा भेटमा ओलीले रवीन्द्र मिश्रलाई भने– नआत्तिनु होला

मिश्रलाई एक मुट्ठी सिक्का उपहार


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसित विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले भेटवार्ता गरेका छन् । उनलाई भेट्न मिश्र आइतबार साँझ ओली निवास बालकोट पुगेका थिए ।

उनीहरूबीच करिब अढाई घण्टा भेटवार्ता भएको मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

मिश्रले यस्ताे लेखेका छन्

ओलीजीसँग अढाई घण्टा !

“तपाईं धर्म-संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ?” मैले सोधेँ। उहाँले भन्नुभयो, “म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु।”

उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राती १२/०१ नबजि सुत्नु हुन्न, उहाँको उर्जा र लगन अनौठो छ।
ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो। आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो।

सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, “तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।”
अन्त्यमा, चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लेराएर उपहार दिनुभयो। भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ!