राष्ट्रपतिलाई कांग्रेसले भन्योः अध्यादेशअनुसार नै नागरिकता विधेयक ल्याइएको हो

राष्ट्रपतिलाई कांग्रेसले भन्योः अध्यादेशअनुसार नै नागरिकता विधेयक ल्याइएको हो


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नागरिकता विधेयकका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेसका नेताहरुसँग चासो राखेकी छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा सोमबार कांग्रेस नेताहरुसँग भएको भेटमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका विषयमा चासो राखेको भेटमा सहभागि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कांग्रेसले राष्ट्रपति भण्डारीलाई केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको अध्यादेशअनुसार नै नागरिकता विधेयक संसदबाट पारित गरिएको जवाफ दिएको छ । ‘उहाँका नागरिकता सम्बन्धमा केही केही जिज्ञासाहरु थिए। राजनीति, चुनाव यिनै कुराबारेमा छलफल भयो। हामीले यसबारे प्रष्ट पार्यौँ,’ उनले भने, ‘विगतमा केपी शर्मा ओली सरकारले अध्ययादेश ल्याएको थियो। त्यही अध्यादेशअनुसार नै विधेयक अहिले पार्लियामेन्टले पास गरेको हो।’

छलफलका क्रममा राष्ट्रपति भण्डारीले आगामी मंसिर ४ का लागि तय गरिएको संघीय र प्रादेशिक निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएको कार्कीको भनाइ थियो। ‘राष्ट्रपतिले चुनाव निष्पक्ष रुपले सम्पन्न होस् भन्नुभयो,’ उनले भने।

राष्ट्रपतिसँगको भेटमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।