प्रदेश–१ मा डिजाइन एन्ड विल्ट मोडेलका पुल सञ्चालनमा

प्रदेश–१ मा डिजाइन एन्ड विल्ट मोडेलका पुल सञ्चालनमा

प्रदेश सरकारको गौरवको योजनाको रुपमा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय बराह क्षेत्रमा नमूना झोलुङ्गे पुल निर्माणका लागि चालू आर्थिक वर्ष २०७९/०८० मा बजेट विनियोजन भइ हाल डिजाइनको क्रममा छ


ग्लोब नेपाल
8k
Shares

काठमाडौं । भौतिक पूर्वाधार निर्देशनालय प्रदेश–१ इटहरीबाट डिजाइन एन्ड विल्ट (निर्माण व्यवसायी आफैले पुलको डिजाइन गरी निर्माण गर्नुपर्ने) मोडेलका दुईवटा पुल सञ्चालनमा आएको छ । पाँचवटा मध्ये तीनवटा निर्माण क्रममा रहेका छन् ।

यारी खोला पुल (६० मिटर) उदयपुर, गत २०७८ साल पुस २१ गते प्रदेश–१ भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले उद्घाटन गरेपछि सुचारु भएको हो । त्यस्तै गत भदौ ४ गते गिदेरी खोल पुल (७५ मिटर) उदयपुर परराष्ट्रमन्त्री नारायण खड्का र प्रदेश सरकारका सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीले संयुक्त रुपमा पुलको उद्घाटनसँगै सुचारु भएकाे थियाे ।

यारी खोला पुल आश्रय केएम जय विष्णु जेभीले निर्माण गरेको थियो भने गिदेरी खोला पुल इलाइट सूर्य एन्ड सन्स् जेभी धरानले निर्माण गरेको हो ।

त्यसैगरी तेह्रथुमको छथर गाउँपालिका र पाँचथरको तुम्बेवा गाउँपालिका बीचमा पर्ने तमोर नदीको हाकपराघाट (१५० मिटर), ताप्लेजुङ लिंखिम र खेजेनिम जोड्ने तमोरमा पुल (६० मिटर), सोलुको थुलुङ–दुधकोशी गाउँपालिकाअन्तर्गत दूधकोशी नदीमा (९०मिटर) काे पुल निर्माण कार्य हुँदै गरेको निर्देशनालयका निर्देशक उत्तमनारायण खरेलले जानकारी दिए । भौतिक पूर्वाधार निर्देशनालय प्रदेश–१ अन्तर्गतका अधिकांश पुलहरु दुर्गम क्षेत्रमा निर्माण भइरहेको र कोभिडका बाबजुद पनि २०७८/०७९ मा पुल निर्माणमा उल्लेखनीय प्रगति भएको निर्देशक खरेलले जानकारी दिए ।

निर्माण कार्य सञ्चालनमा रहेका बाँकी पुलहरु पनि छिट्टै सम्पन्न हुने उनले बताए । साथै उदयपुरको मैनामैनी र भोजपुरको हतुवागढी जोड्ने सडकमा पर्ने दूधकोशी नदी, चुहारमा समेत ९० मिटरको स्टिल ट्रष्ट पुल निर्माणाधीन रहेको छ । उक्त पुल कालिका प्यासेफिक जेभीले निर्माण गर्दैछ ।

त्यसैगरी प्रदेश सरकारको गौरवको योजनाको रुपमा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय बराह क्षेत्रमा नमूना झोलुङ्गे पुल निर्माणका लागि चालू आर्थिक वर्ष २०७९/०८० मा बजेट विनियोजन भइ हाल डिजाइनको क्रममा रहेको छ । ‘वाइ’ टाइपको हुने उक्त पुल सुनसरी, उदयपुर र धनकुटा जोड्नेछ । यो पुलले तीन जिल्लालाई मात्र जोड्दैन, आन्तरिक धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने निर्देशक खरेलले बताए ।