काठमाडौं-१ मा रविन्द्र मिश्रको उम्मेदवारी, एमाले-राप्रपाको समर्थन !

काठमाडौं-१ मा रविन्द्र मिश्रको उम्मेदवारी, एमाले-राप्रपाको समर्थन !


ग्लोब नेपाल
216
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारी थालेका छन् ।

पछिल्लो समय राजसंस्थाको वकालत गरेर नयाँ राजनीतिक तरंग सिर्जना गरिरहेका मिश्र फेरी एक पटक काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारीको तयारीमा रहेको स्रोतले बतायो । अघिल्लो चुनावमा मिश्र काठमाडौं १ मा उम्मेदवारी दिएर कांग्रेसका हस्ती प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भएका थिए ।

उक्त चुनावमा काठमाडौमा १ मा एमाले-माओवादी गठबन्धनबाट माओवादीका अनिल शर्मा उम्मेदवार थिए । सिंहले ८१९ मतान्तरले मिश्रलाई पराजित गरेका थिए । सिंहले १० हजार ९३७ मत पाउँदा मिश्रको १० हजार ११८ मत आएको थियो । माओवादीका शर्माले ५ हजार ३३५ मतमात्र ल्याएका थिए । मिश्रले यसपालि पनि यही क्षेत्रबाट चुनाव लड्ने मनस्थिति बनाएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट्न पहिलोपल्ट बालकोट निवास पुगेका मिश्रले आइतबार विभिन्न विषयमा सकारात्मक छलफल भएको उल्लेख गरेका थिए । स्रोतका अनुसार काठमाडौं १ मा मिश्रलाई एमालेले सघाउने सम्भावना छ । मिश्र विवेकशील साझाको अध्यक्षबाट हटे पनि पार्टीमा उनको पकड यथावत छ। एमालेले मात्रै होइन राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)ले समेत मिश्रलाई यस पटक समर्थन गर्ने बलियो सम्भावना रहेको उनी निकट स्रोतको भनाइ छ ।

स्रोतका अनुसार मिश्रले राप्रपासँग पार्टी एकताको लागि पनि पहल गरिरहेका छन् । ‘पार्टी एकताको छलफल पनि हुँदैछ, तत्कालै भएन भने पनि चुनावमा उहाँ (रविन्द्र मिश्र) लाई राप्रपाले सहयोग गर्ने सकारात्मक जवाफ दिएको छ’, मिश्र निकट स्रोतले भन्यो, ‘एमालेले पनि सहयोग गर्ने अपेक्षा हामीले गरेका छौँ ।’

स्रोतका अनुसार मिश्रलाई एमालेले सहयोग गरेमा अन्य क्षेत्रमा विवेकशील साझाले एमालेलाई सहयोग गर्नेछ ।