सुदूरपश्चिम पुगेर ओलीले भने: प्रत्यक्ष र समानुपातिक गरी १५० सिट जित्छाैँ

सुदूरपश्चिम पुगेर ओलीले भने: प्रत्यक्ष र समानुपातिक गरी १५० सिट जित्छाैँ


ग्लोब नेपाल
27
Shares

कञ्चनपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आबद्ध दल राष्ट्रियताको ख्यालै नगरी सत्ता जोगाउन विदेशी सामु लम्पसार परेको आरोप लगाएका छन् । 

सत्ता जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवा भारतको सरणमा पुगेका र प्रधानमन्त्री बनाइदेऊ भन्दै माओवादी अध्यक्ष प्रचण्ड पनि भारतसँग खुसुखुसु गर्न थालेका उनले बताए । ‘सत्तारुढ दल देशको लागि नभई व्यक्तिगत स्वार्थका लागि विदेशीको इसारामा पर्न थालेका छन्,’ बुधबार कञ्चनपुर पुगेका ओलीले भने, ‘जनताले त्यो सबै बुझिसकेका छन् । आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी एमाले एक्लै १५० सिट जितेर देशको विकास गर्ने अघि बढ्ने छ ।’ 

उनले देशको विकास चाहने नेपालीलाई एमालेमा आउन आग्रह गरे । बुधबार कञ्चनपुरमा आयोजित ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’मा बोल्दै उनले देश बनाउने पार्टी एमाले मात्रै भएको भन्दै अन्य पार्टीमा लागेका कार्यकर्तालाई पनि एमालेमा आएर देश विकासमा होमिन आग्रह गरे । भोट दिने नेपाली नागरिक भएको र उनीहरूलाई देशको माया रहेको बताए ।

कार्यक्रम विभिन्न पार्टी परित्याग गरेर एमालेमा आएका नेता कार्यकर्तालाई ओलीले टिका लगाएर स्वागत गरेका थिए ।