सुर्खेत पुगेर प्रचण्डले भनेः कर्णालीको सिट बाँडफाँटमा फुकेर कदम चाल्छौं

सुर्खेत पुगेर प्रचण्डले भनेः कर्णालीको सिट बाँडफाँटमा फुकेर कदम चाल्छौं


ग्लोब नेपाल
405
Shares

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटमा सत्तारुढ गठबन्धन सहमति नजिक पुगेको दाबी गरेका छन् ।

शुक्रबार सुर्खेतमा आफ्नो पार्टीद्वारा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले अर्को गठबन्धन बनाउने ठाउँमा नभएको भन्दै यसै गठबन्धनलाई निरन्तरता दिएर सिट बाँडफाँड गरिने बताए । ‘अर्को गठबन्धन बनाउने ठाउँमा छैनौं,’ प्रचण्डले भने, ‘यही गठबन्धनबाट गएर स्थानीय चुनावको अनुभवबाट शिक्षा लिएर करेक्सन गरेर जानुपर्छ भनेर लागेका छौं ।’

प्रचण्डले कर्णालीको सिट बाँडफाँटमा भने फुकेर कदम चाल्ने पनि बताए । उनले २०७४ को सिट बाँडफाँटमा केही कमजोरी भएको स्वीकार गर्दै भने, ‘पहिला उदार भएर जे कमी गरेका छौं, त्यो हुन दिइँदैन । प्रदेशमा सरकार बन्ने गरेर जान चाहन्छौं । केन्द्र सरकार निर्माणमा पनि कर्णालीको भूमिका होस् भन्नेमा छौं ।’

कुन–कुन क्षेत्र र प्रदेशमा दाबी गर्ने हो ? जिने आधार के हो भन्ने गृहकार्य गरेर दलहरु भोलि (शनिबार)को बैठकमा प्रस्तुत हुने प्रचण्डले बताए ।