बाल्टिमोरमा नेता गिरीको सम्झना

बाल्टिमोरमा नेता गिरीको सम्झना


ग्लोब नेपाल
1.2k
Shares

बाल्टिमोर, अमेरिका । अमेरिकामा रहेका कांग्रेसजनले आफ्ना दिवंगत नेता एवं प्रतिनिधि सभाका सदस्य प्रदिप गिरीको स्मृतिमा एक शोक सभाको आयोजना गरी उनको स्मरण गरेका छन् । कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं सम्जावादी चिन्तक गिरीको देहवसानको १३ औं दिनको पुण्यतिथिको अवसर पारेर बिहीवार आयोजित शोक सभाका सहभागीहरुले नेता गिरीको विचार र व्यक्तित्वको चर्चा गरे। नेपाली जनसम्पर्क समिति,मेरिल्याण्ड च्याप्टरले नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय र निर्देशन अनुरुप तेह्रौं दिनको दिन यो शोक सभा गरेको हो ।

कार्यक्रममा नेता गिरीको निधनले कांग्रेस पार्टीलाई मात्र नभएर सिंगो मुलुकलाई नै अपुरणीय क्षति पुगेको भन्दै सहभागी वक्ताहरुले समाजवाद र मार्क्सवादको विषयमा गहिरो दख्खल राख्ने र विश्लेषण गर्न सक्ने नेता गिरीले वीपी कोइरालाको समाजवादको सिद्धान्तलाई व्याख्या गरेर सहज बनाई दिएको भन्दै गिरीको बहुआयामिक व्यक्तित्वका बारे चर्चा गरेका थिए । च्याप्टरका सभापति राजेन्द्र सेन्चुरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको आरम्भमा नेता गिरीको स्मृतिमा एक मिनेट मौन धारण गर्दै तस्वीरमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।

नेपाली जनसम्पर्क समिति,अमेरिकाका प्रचार विभाग प्रमूख एवं कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधि गौतम दाहालले नेता गिरी सानो भूगोलको उँचो व्यक्तित्व भन्दै दक्षिण एशिया र भारतमा समेत गान्धीवादी दर्शन र समाजवादी चिन्तकका रुपमा नेता गिरी सम्मानित रहेको बताए। उनले नेता गिरीकै समन्वय र पहलमा नयाँ दिल्लीमा सन् २००५ मा ‘लोकतन्त्र’ नामक विचार प्रधान मासिक पत्रिका प्रकाशन गरी संगै काम गर्ने अवसर पाएको र नेता गिरी सदैव युवा पुस्ताप्रति भरोसा गर्ने र प्रोत्साहित गर्ने गरेको भन्दै उनको स्मरण गरे ।

प्रेस युनियनका पूर्व महासचिव समेत रहेका जनसम्पर्क समितिका पूर्व प्रवक्ता तरुण पौडेलले नेता गिरी आफ्ना विचार प्रष्ट राख्न सक्ने निडर स्वभावको व्यक्ति भन्दै गिरीले प्रतिबन्धित कालमा तरुण पत्रिका सम्पादन गरेको क्षण समेत स्मरण गरेका थिए। ‘उहाँ विद्वान र तार्किक कुरा गर्न सक्ने लालचबिनाको नेता हुनुहुन्थ्यो,उहाँका लेख,विचार र अन्य सामाग्रीको संकलन गरेर कांग्रेसले भावी पुस्तालाई अध्ययन गराउनुपर्छ’ च्याप्टर महासचिव नेत्र केसीले संचालन गरेको कार्यक्रममा पौडेलले भने ।

बाल्टिमोरस्थित मोर्गन स्टेट युनिभर्सिटीको पुस्तकालयमा आयोजित शोकसभामा जनसम्पर्क समितिका केन्द्रीय सदस्य गोपाल विश्वकर्मा,पूर्व केन्द्रीय सदस्य भुवनेश्वरी बन्जाडे,च्याप्टरका संस्थापक सभापति रामचन्द्र अधिकारी,म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रीय समितिका अध्यक्ष अमर छन्त्याललगायतले नेता गिरीको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धान्जली व्यक्त गरेका थिए।