चुनाव आएपछि हारिएला कि भन्ने डर हुन्छ: गगन थापा

चुनाव आएपछि हारिएला कि भन्ने डर हुन्छ: गगन थापा


ग्लोब नेपाल
351
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएला कि भन्ने डर आफूलाई सधैँ हुने गरेको बताएका छन्।

काठमाडौंकाे बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा चुनावी अनुभव सुनाउँदै चुनावमा जित/हार दुवै हुने भए पनि आफूलाई हारिएलाकी भन्ने डरले बढी सताउने गरेको बताए । पूर्वमन्त्रीसमेत रहेका महामन्त्री थापाले सफलता र असफलता दुवै कुरा जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीहरुको पठनपाठनलाई अघि बढाउन पनि उक्त विद्यालयलाई आग्रह गरे।

उनले भने, ‘एउटा चुनाव जित्यो। त्यसपछि खुशी भयो। त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने। मलाई यस्तो हुन्छ। उपसचिव हुने साथीलाई सहसचिवमा नाम ननिक्लेला भन्ने डर। जिन्दगी नै यसरी नै जाने हो। तर बालबालिकाहरुलाई जित र हार हुन्छ। सफल र असफल होइन्छ भनेर सिकाउनु पर्दछ। आफ्नो कर्म गर्ने हो। तर सधैं भनेजस्तो फल नआउन पनि सक्छ। तर कर्म भने गर्दै जानुपर्छ।’

महामन्त्री थापाले जिन्दगीमा सधैँ सफलता मात्रै हात नपर्ने कुरा पनि विद्यार्थीहरुलाई सिकाउन हरेक विद्यालयले ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा सो विद्यालयको शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउने गरी शिक्षक तालिम, कक्षा कोठामा नै पुस्तकालयको विकास गर्ने गरी काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्ने सम्झौता समेत गरिएको थियो ।