नेता कार्यकर्तालाई ओलीको निर्देशन: निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिनुस्

नेता कार्यकर्तालाई ओलीको निर्देशन: निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिनुस्


ग्लोब नेपाल
351
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शनिबार सुनसरीको दुहवीमा नेकपा एमाले सुनसरी‌ ३ क्षेत्रिय समन्वय समितिको पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराएका हुन् ।

सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रन तयार रहनुपर्ने बताएका थिए । ‘यसभन्दा अगाडि दुईपटक भगवती चौधरीले जितेको क्षेत्र हो यो । तर हार घोषणा गराइएको छ’, ओलीले भने, ‘प्रहरी प्रशासन लगाएर राज्यशक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ, म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’

उनले एमालेका कार्यकर्तालाई गँड्यौला जस्तो नभएर दुईवटा दाँत भएको जस्तो बनेर धाँधलीविरुद्ध डस्न तयार हुनुपर्ने बताए । उनले बुथ कब्जा गर्न खोज्नेलाई आफ्नो मतको र जनताको अभिमतको रक्षा गर्न तयार हुन निर्देशन दिए ।

‘नेता कार्यकर्ताहरुलाई भन्न चाहन्छु एमाले गड्यौला हुने होइन यसो मुखमा छोयो भने पछाडि फर्कने दुईवटा दाँत भएको डस्न सक्ने पनि हुनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘बुथ कब्जा गर्न कसैले खोज्छ भने हामी जनताको मतको रक्षा गर्ने आफनै मतको रक्षा गर्ने जनताको सार्वभौम अधिकारको रक्षा गर्ने हुनुपर्छ । पैसाको प्रलोभनमा पनुहुदैन ।’

उनले नेकपा एमालेले मंसिर ४ गते बहुमतको सरकार बनाउने दाबी पनि गरे । उनले भने,‘ बहुमतको सरकार बनाउँनै पर्छ । यो देश एक वर्षमा गठबन्धनले कंगाल बनाउन लागिसक्यो । एक वर्षमा विकासका आयोजना कतौटी गरेर बेहाल बनाएको छ। ’