डोटीमा आनन्दको खोजी

डोटीमा आनन्दको खोजी



मुलुक आम निर्वाचनमा होमिएको छ । सत्ता गठबन्धन भागवण्डा मिलाउन व्यस्त रहेकै बेला प्रदेश र जिल्लाबाट उम्मेदवार सिफारिस गर्ने क्रम सबै राजनीतिक दलमा चलिरहेकै छ । साझा र जित्ने उम्मेदवारको खोजी प्रत्येक निर्वाचन क्षेत्रमा भइरहेको छ । यो खोजी गर्नेक्रममा डोटी जिल्ला पनि हात बाँधेर बसेको छैन । एउटै मात्र निर्वाचन क्षेत्र भएको सुदूरपश्चिमको डोटी जिल्लामा नेपाली कांग्रेसले कसलाई उम्मेदवार बनायो भने सजिलै चुनाव जित्छ भन्ने छलफलले व्यापकता पाएको छ ।

प्रदेश सभापति वीरबहादुर बलायर, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, नेकपा (एस) बाट निर्वाचित सांसद प्रेमबहादुर आले, २०४८, २०५१ र २०५६ मा डोटी–१ बाट निर्वाचित भक्तबहादुर बलायरको निर्वाचन क्षेत्र भएकाले गठबन्धनलाई भागवण्डा मिलाउन अप्ठ्यारो पर्ने देखिन्छ ।

एउटा मात्र निर्वाचन क्षेत्र भएको डोटीमा ९ वटा स्थानीय पालिकामध्ये ७ मा कांग्रेस विजयी भएको छ । त्यसैले यो जिल्लामा कांग्रेसको बलियो पक्कड भएकाले गठबन्धनको असर नदेखिन पनि सक्छ । तर, कांग्रेसभित्र नै कसले टिकट पाउने भन्ने विषय पेचिलो बन्न सक्छ ।

कांग्रेसबाट टिकटका दाबेदार झन्डै आधा दर्जन छन् । प्रदेश सभापति वीरबहादुर बलायर, पूर्वआमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्ट, संविधानसभा सदस्य भरतबहादुर खड्का, महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाही, नेता यज्ञराज पाठक र भक्तबहादुर बलायरले टिकटको दाबी गरेका छन् ।

प्रदेश सभापति बीरबहादुर बलायर मुख्यमन्त्रीको लाइनमा छन् भने भक्तबहादुर बलायरले तीनपटकसम्म डोटीको नेतृत्व गरिसकेका छन् । भरतबहादुर खड्काको परफर्मेन्सबाट डोटेली जनता सन्तुष्ट छैनन् । नेता पाठक र शाहीको भने प्रदेशमा बर्गोनिङका लागि संघीय निर्वाचनमा टिकट दाबी गरेका हुन् ।

डोटेली जनताले यसपटक नयाँ उम्मेदवारको खोजीमा छन् । त्यो नयाँ उम्मेदवार भनेको आनन्द विष्ट हुन् । उनलाई उम्मेदवारका रुपमा अगाडि सारियो भने कुनै विवाद नरहने स्पष्ट हुन्छ । कांग्रेस डोटीका पुराना नेता कृष्णबहादुर चन्द डोटीमा आनन्द विष्टलाई टिकट दिनुपर्ने बताउँछन् । ‘जिल्लामा पुराना नेताहरूको इमेज राम्रो छैन । डोटीमा फ्रेस व्यक्ति आउँदा राम्रो हुन्छ । त्यसमा पनि आनन्द विष्ट आउनुभयो भने कांग्रेसलाई जित्न झनै सजिलो हुन्छ । किनकि विष्टले डोटीमा विभिन्न समय ठूलो सहयोग गर्नुभएको छ । उहाँ निर्विवादित व्यक्ति पनि हो,’ चन्द भन्छन् ।

त्यस्तै, नेपाली कांग्रेस डोटीका पूर्व उपसभापति दीपक विष्टको बुझाईमा आनन्द विष्ट सक्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध भएको युवा भएकाले पनि कांग्रेसलाई डोटीमा जित्न सहज हुनेछ । ‘डोटीमा एउटै मान्छेले मात्र स्थान पाउने हो भने नयाँ सोचले स्थान पाउँदैन र जनतामा नवीन ऊर्जा आउँदैन । युवाले आफ्नो भिजनलाई पनि सदुपयोग गर्दैन । एउटै व्यक्तिले सधैँ सबै ठाउँमा स्थान पाउँदा युवाले विकल्प खोज्छ । यसमा पनि पार्टी नेतृत्व गम्भीर हुनुपर्छ भन्ने हो,’ उनले भने ।

‘गिरिजप्रसाद कोइराला नै प्रेरक हुनु भो । पहिलो संविधान सभाको टिकट दिन बोलाउनु भो, आएँ र चुनावको तयारी गर्नुस् भनेर मलाई तयारीमा खटाउनु भो, पछि सिद्धराज ओझा दाइले मेरो अन्तिमपटक हो भनेर टिकट लिनु भो । त्यसपछि म छुटें ।

गत साता नेपाली कांग्रेस डोटी काठमाडौं सम्पर्क समितिले राजधानी काठमाडौंमा भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा पनि स्थानीय नेताहरूले गठबन्धन नगरेर कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा जानुपर्ने र नयाँ अनुहार फेरिनुपर्ने बताएका थिए ।

स्थानीय निकायका जनप्रतिनिधिहरुको एक टोलीले पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरी आनन्द विष्टलाई टिकट दिए सजिलै जित्न सकिने विश्लेषण सुनाएको बुझिएको छ । सभापति देउवा पनि विष्टलाई टिकट दिन सकारात्मक रहेको भेटमा उपस्थित एक जनप्रतिनिधिले बताए । पार्टी सभापति शेरबहादुर देउवाको इच्छा मात्र होइन, डोटी कांग्रेसको सन्तुलन मिलाउन पनि आनन्द उपयुक्त पात्र भएको विश्लेषण गरिएको छ ।

को हुन् आनन्द विष्ट ?
आनन्द विष्ट कांग्रेसका निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य हुन् । उनी नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति समेत हुन् । उनी सन् २००५ यता १६ वर्षदेखि निरन्तर नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति रहँदै आएका छन् । ११औं महाधिवेशनदेखि विष्ट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेका छन् । सरल, मिजासिलो, पार्टीको इमान्दार सिपाहीको रुपमा विष्टको परिचय बनेको छ । नेपाली कांग्रेसले मात्र होइन, अन्य विचार र आस्थाका व्यक्तिले पनि आनन्द विष्टलाई कांग्रेसको असल मान्छे भनेर सम्मान गर्छन् ।

शंकरदेव पढ्दै गर्दा अमेरिका गएर पनि पार्टी, लोकतन्त्रका लागि सधैं खटिरहेको र पार्टीका नेताहरुले पनि दुःख गरेको साथी भनेर विष्टको सम्मान गर्छन् । गत महिना अमेरिका पुगेका कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले त सार्वजनिक रुपमै विष्टको योगदानको चर्चा गर्दै पार्टीभित्र उहाँको लागि लड्ने बताए । ’खाली पार्टी भनेर दौडेको छ, उहाँले पार्टी र लोकतन्त्रबाहेक केही देखेको छैन, निरन्तर खटेको छ, जहिले पनि त्यही ऊर्जा देख्छु, यस्तो साथीलाई पार्टीले अवसर दिनुपर्छ र म पनि कुरा उठाउछु’ बस्नेतको भनाई थियो ।

खासगरी नेपालमा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि विष्टले फ्रन्टलाइनमा शाही सत्ताको विरोधको नेतृत्व गरे । उनले २०६२/६३ सालको जनआन्दोलनमा अमेरिकामा बसेर संयुक्त राष्ट्र संघ, ह्वाइटहाउस, विभिन्न अन्तर्राष्ट्रिय निकायमा पुगेर आन्दोलन गर्दै नेपालमा जारी जनआन्दोलनलाई सफल पार्न अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षणमा भूमिका निर्वाह गरेका थिए । त्योभन्दा पहिले नेप्लिज डेमोक्र्याटिक युथ काउन्सिलको संस्थापक अध्यक्षको जिम्मेवारी लिएर काम गरेका विष्ट न्यूयोर्कमा सबैका माँझ शिष्ट व्यक्तिको रुपमा चिनिन्छन् ।

नेपालबाट अमेरिका पुग्ने अन्य दल र विचारका नेताले पनि विष्टलाई सम्मान दिन्छन् । विष्टले पार्टीमा गरेको योगदानको कदर गर्दै सभापति शेरबहादुर देउवाले पार्टीको आमन्त्रित केन्द्रीय सदस्य बनाए । जसले विश्वभरका जनसम्पर्क समिति पार्टीमा योगदान गर्नेको सम्मान हुने रहेछ भनेर उत्साहित भए । अहिले विष्टलाई टिकट दिने हो भने जनसम्पर्क समितिको मात्र होइन विश्वभर छरिएर रहेका कांग्रेसजनको शीर उँचो हुन्छ भन्छन् जनसम्पर्क समितिका नेताहरु । यही आग्रह गरेर उनीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई समेत भेटेका छन् ।

शाही सत्ताको विरोधमा आफूलाई नेतृत्व लिएर काम गर्न नेता गिरिजाप्रसाद कोइरालाले प्रोत्साहन गरेको र न्यूयोर्कस्थित राष्ट्र संघ मुख्यालय अगाडी हजारौं नेपालीहरुको सहभागितामा लोकतन्त्रको पक्षमा विश्वका नेताहरुको ध्यानाकर्षण गराएको त्यो क्षण सम्झन्छन् । यसैगरी ह्वाइट हाउस, क्यापिटल हिलजस्ता ठाउँहरुमा पुगेर अमेरिकामा रहेका आम लोकतन्त्र पक्षधर नेपालीहरुको आवाजको प्रतिनिधि भएर लोकतन्त्रका पक्षमा आवाज उठाएका व्यक्ति हुन् विष्ट । ‘त्यो बेला त अमेरिकामा रहेका लोकतन्त्र पक्षधर नेपालीहरु न्यूयोर्क र डिसीमा जुटेर नेपालको लोकतन्त्र पक्षमा जुरुक्क उठेको थियो’ विष्ट सम्झन्छन् ।

‘गिरिजप्रसाद कोइराला नै प्रेरक हुनु भो । पहिलो संविधान सभाको टिकट दिन बोलाउनु भो, आएँ र चुनावको तयारी गर्नुस् भनेर मलाई तयारीमा खटाउनु भो, पछि सिद्धराज ओझा दाइले मेरो अन्तिमपटक हो भनेर टिकट लिनु भो । त्यसपछि म छुटें । सुशील दाले सधैं स्नेह दिनु भो । संगठनका लागि खट्न अभिप्रेरित गरिरहनु भो, वर्तमान सभापति शेरबहादुर देउबाले सम्मान गर्नु भो, मेरो योगदानको कदर मात्र होइन विश्वका सबै जनसम्पर्क समितिको प्रतिनिधित्व सुनिश्चित गर्नुभो’ विष्ट भन्छन् ।

कोरोना संक्रमणको बेला कोरोनाविरुद्ध सचेतना एवम् सहयोग समूह गठन गरेर अमेरिकामा रहेका नेपालीहरुलाई विपतमा मानवीय सहयोग जुटाए । जसको नेतृत्व विष्टले नै गरे । ‘त्यो बेला आफ्नो बच्चा, परिवार होइन आम नेपालीको स्वास्थ्य र संक्रमणको चिन्ता ठूलो थियो, सेनिटाइजर थिएन, मास्क थिएन, सामान्य टाउको दुखेको औषधि थिएन, घरबाट बाहिर निस्कन सक्ने अवस्था थिएन, त्यो बेला अमेरिकावासी आम नेपाली दाजुभाइले न्यूयोर्कका नेपालीहरुलाई हरतरहले सहयोग गर्नुभो, जसको नेतृत्व लिएर सेवा गर्ने अवसर पाएँ’ विष्ट सम्झन्छन् ।

महाभूकम्प, बाढी पहिरो, प्राकृतिक विपति, आम निर्वाचन, स्थानीय तहको निर्वाचन, पार्टी महाधिवेशन लगायत पार्टीका हरेक गतिविधिमा विश्वभरका जनसम्पर्क समितिको समन्वय गरेर सहयोग र आर्थिक योगदान गर्न पनि विष्टले नेतृत्व गरेका छन् ।

दुई दशकभन्दा बढि समयदेखि अमेरिकामा बस्दै आएका बिष्टले नेपालमा भुकम्प, बाढी पहिरो तथा कोभिडको प्रकोपमा अन्तर्राष्ट्रिय स्तरमा सहयोग जुटाउन जनसम्पर्क समितिका तर्फबाट नेतृत्वदायी भूमिका निर्बाह गरेका थिए । त्यस बाहेक गृह जिल्ला डोटीमा दैवी प्रकोप, कोभिड तथा अन्य समस्या पर्दा राहत तथा बिभिन्न किसिमका सहयोग गर्दै आएका छन् । डोटीमा सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएका नेताका रुपमा बिष्टलाई चिनिन्छ ।

उनले पछिल्लो स्थानीय तहको निर्बाचनमा डोटीका नौ वटै स्थानीय तहमा पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । जसमध्ये सात वटा तहमा नेपाली काँग्रेसले बहुमतका साथ जितेको थियो । दुई वटा स्थानीय तहमा भने झिनो मतले नेपाली काँग्रेस पराजीत भएको थियो । नेपाली कांग्रेस केन्द्रीय समितिले उनलाई स्थानीय तहको निर्वाचनमा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार तथा संयोजनको जिम्मेवारी दिएको थियो ।

बिष्टले आफ्नो अनुभव, क्षमता र अन्तर्राष्टिय सम्बन्धलाई डोटी, सुदूर पश्चिम र देशको विकासमा समर्पित गर्ने सोचका साथ प्रतिनिधि सभाको निर्वाचनमा डोटीबाट उम्मेदवार बन्न चाहेको बताए । ‘मेरो बाँकी जीवन आफ्नो गृह जिल्ला र सुदूरपश्चिमेली जनताको विकास र समृद्धिका लागि समर्पित गर्न चाहन्छु,’ उनले भने ।