ओखलढुंगाबाट चुनाव लड्ने चर्चाबारे राम कार्की यसो भन्छन्

ओखलढुंगाबाट चुनाव लड्ने चर्चाबारे राम कार्की यसो भन्छन्



काठमाडौं । सत्तारुढ गठबन्धनले चुनाव लड्नका लागि राजनीतिक दलहरुबीच सिटको भागवण्डा मिल्नै लागेको बताएको छ । अन्ततः गठबन्धनमा रहेका सबै राजनीतिक दल सहमतिमा आउनुको विकल्प नदेखेपछि शीर्ष तहमा छलफल गरेर सिट बाँडफाँटको टुंगो लगाउने प्रयास भएको छ । कुन निर्वाचन क्षेत्र कसको भागमा पर्छ, टुंगो छैन । तर, राजनीतिक दलहरुले क्षेत्र र जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाउने काम तीब्रताका साथ गरिरहेका छन् ।

ओखलढुंगामा पनि कांग्रेसले उम्मेदवारको नाम सिफारिस गरेर पठाएको छ । गठबन्धनकै अर्को सहयात्री नेकपा माओवादी केन्द्रले पनि सुरेन्द्र उर्फ राम कार्कीको एकल नाम सिफारिस गरेर पठाएको छ । गत निर्वाचनमा झापा क्षेत्र नं. १ बाट निर्वाचित राम कार्कीको स्थानमा गठबन्धनबाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा उम्मेदवार बन्ने चर्चा चलेको छ ।

झापाबाट विस्थापित भएसँगै राम कार्की ओखलढुंगाबाट चुनाव लड्ने चर्चाले त्यत्तिकै व्यापकता पाएको छ, जति झापा–१ मा विश्वप्रकाश चुनाव लड्दैछन् । माओवादीले ओखलढुंगाबाट चुनाव लडाउनकै लागि राम कार्कीको नाम एकल सिफारिस गरेको बुझाइ कतिपय कांग्रेसको छ, तर कार्की आफ्नो पुरानो निर्वाचन क्षेत्र छाड्ने मनस्थितिमा छैनन् । उनी कहाँबाट चुनाव लड्छन् त भन्ने विषयमा कार्कीसँग गरेको कुराकानीको सम्पादित अंश–

राम कार्की

० तपाईंको निर्वाचन क्षेत्र टुंगो लाग्यो ?
– २०७४ सालको निर्वाचनमा पहिला जो जहाँबाट उठेको थियो, यसपटक त्यहीबाट उठ्ने गठबन्धन दलहरुबीच सहमति भएको छ । म यसअघि झापा निर्वाचन क्षेत्र नं. १ बाट विजयी भएको हुँ, सम्भवतः अहिले पनि म त्यहीबाट उम्मेदवार बन्न सक्छु ।

० त्यहाँ त कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा उठ्ने चर्चा छ नि ?
– निर्वाचनमा चर्चा सबैको सबै ठाउँबाट हुन्छ, यो स्वभाविक कुरो हो ।

० पार्टीको वरियातामा विश्वप्रकाश ठूलो होला नि ?
– पार्टीमा को ठूलो को सानो मलाई थाहा भएन, हाम्रा लागि सबैभन्दा ठूलो जनता हुन् । पहिले चुनाव लड्दा पनि सरसल्लाह गरेरै प्रतिस्पर्धामा उत्रेका हामी अहिले गठबन्धनभित्र छौं । यस पटक पनि हामी सरसल्लाहै गरेर चुनावमा जान्छौं ।

० झापा १ मा विश्वप्रकाश प्रचारप्रसारमा लागिसके नि त ?
– हो, उहाँ अहिले झापाको आफ्नै निर्वाचन क्षेत्रमा हुनुहुन्छ, साथीभाइसँग भेटघाट र चुनावी माहोल बनाउँदै हुन्हुन्छ । केही दिन पछि म पनि जान्छु, चुनाव प्रचारप्रसार गर्छु ।

० तपाईंको नाम त ओखलढुंगाबाट सर्वसम्मत सिफारिस भएको सुनिन्छ नि ?
– भयो होला, म यसलाई अन्यथा लिइदिनँ । तर, त्यहाँ कांग्रेसकै साथीहरु लाप्पा खेलिरहेका छन् । ओखलढुंगा कांग्रेसका साथीहरु दुई गुट भएर मारामार गरिरहेका छन् । प्रदेश नं. १ को विभिन्न क्षेत्रमा बसेर काम गरेको छु, त्यसैले ओखलढुंगा, रामेछाप, सिन्धुलीका साथीहरुले चुनाव लड्न बोलाउनु भएको छ ।

० झापाबाट टिकट पाउनु भएन भने कहाँबाट चुनाव लड्नु हुन्छ ?
– मेरो निर्वाचन क्षेत्र झापा नै हो । त्यसबाहेक मैले अन्त काहिँ सोचेको छैन । उमेरले म विश्वप्रकाशको दाजु नै हुँ, सबै कुरा सरसल्लाह गरेर अघि बढ्छौं । हामीबीच कुनै कटुता छैन । सबै काम सरसल्लाहबाटै हुन्छ ।

० झापा छोड्नु प-यो भने कहाँ रोज्नु हुन्छ ?
– प-यो भन्ने कुराले हुँदैन । मेरो मात्र कुराले हुँदैन, पार्टीको निर्णय पनि मैले मान्नुपर्छ । त्यसो त एमालेका केही साथीहरुले पनि मलाई मन पराउनु हुन्छ ।

० एमालेलाई चाहिँ के गुण लगाउनु भयो ?
– कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिनुपर्छ भनेर अभियानै चलाएर हिड्ने मान्छे हुँ म । त्यस हिसाबले एमालेका साथीहरु पनि यो अभियानमा सहयोगी बन्नुभएको छ ।