अबको दुई/तीन दिनभित्रै सिट बाँडफाँट टुङ्गिन्छः प्रचण्ड

अबको दुई/तीन दिनभित्रै सिट बाँडफाँट टुङ्गिन्छः प्रचण्ड


ग्लोब नेपाल
54
Shares

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई/तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताएका छन् ।

पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आइपुगेका अध्यक्ष प्रचण्डले सोमबार (आज) सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताए । “गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ”, अध्यक्ष प्रचण्डले भने, “कार्यदलले आज वा भोलिसम्ममा प्रतिवेदन दिन्छ, त्यसलगत्तै कार्यदलको प्रतिवेदनका आधारमा सिट बाँडफाँटको टुङ्गो लगाउँछ ।”

“अघिल्लो निर्वाचनमा जुन क्षेत्रमा जुन दलले जितेको थियो, त्यही दललाई दिने सैद्धान्तिक सहमति भएको छ”, अध्यक्ष प्रचण्डले भने, “त्यसबाहेक थप कति वटा सिट कुन दललाई दिने भन्नेमा टुङ्गो लगाउन मात्र बाँकी छ ।” उनले आफुहरुले छिटोभन्दा छिटो सिट बाँडफाँटको टुङ्गो लगाएर चुनावी तयारीमा जुट्न चाहेको बताए ।

गत २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमाभन्दा आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मधेश प्रदेशमा आफ्नो पार्टीले बढी सिट जित्ने दाबी अध्यक्ष प्रचण्डले बताए । उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा दोस्रो पटक पारित भएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वास व्यक्त गरे ।

“संविधानले राष्ट्रपतिलाई एकपटक विधेयक फिर्ता गर्ने अधिकार दिएको छ”, अध्यक्ष प्रचण्डले भने, “दोस्रो पटक विधेयक फिर्ता गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको छैन, त्यसैले दुवै सदनबट दोस्रो पटक पारित भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन्छ, हामी पूर्ण विश्वस्त छौँ ।”

मतदान गर्न

बाँकी