केपी ‘बा’ लाई बालकोटको बरण्डामा पुर्‍याउनेहरुले चुनाव जित्लान् ?

केपी ‘बा’ लाई बालकोटको बरण्डामा पुर्‍याउनेहरुले चुनाव जित्लान् ?



काठमाडौं । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुर्‍याउन एमालेकै झन्डै दर्जन पात्रले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ती पात्रहरुमा पार्टी महासचिव शंकर पोखरेलदेखि सांसद नविना लामासम्म पर्छन् । यो निर्वाचनमा जनताले उनीहरुको मूल्यांकन गर्ने निश्चित छ ।

अध्यक्ष ओलीलाई ‘बा’ को सम्मान दिएर ‘अनुचर’ को भूमिका निर्वाह गरेका यी पात्रले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारबाट बालकोटको यात्रा मात्र गराएनन्, नेपालका कम्युनिष्ट पार्टीहरु एक हुनुपर्छ भन्ने अभियानमा समेत ठेस पुर्‍याए । त्यसपछि घटनाक्रम कसरी विकसित भयो, एमाले कसरी नांगिँदै र एक्लिदै गयो, सबै सामू जगजाहेर नै छ । त्यही घटनाको ‘बाइप्रोडक्ट’को रुपमा लगभग एमालेबाहेकको सत्ता गठबन्धन बन्यो ।

सबैतिरबाट एमालेलाई लखेट्न थालियो । केन्द्र सरकार मात्र होइन, प्रदेश सरकारहरु पनि भटाभट ढल्न थाले । आँधिले सबै भताभुंग बनाइसकेपछि मात्र एमाले झल्यास्स ब्युँझियो । उसले आफ्ना गल्तीहरु थाहा पायो होला सायद, कमजोरीहरुका मूल्यांकन भए होलान् । अझ ठूलो परीक्षा मंसिर ४ गते आउँदैछ । यो परीक्षामा एमालेको यो हविगत बनाउने पात्रहरुलाई जनताले कस्तो सजाय देलान त्यो हेर्न भने बाँकी नै छ ।

एमालेलाई ‘बा’ प्रवृतिको गलत बाटो हिडाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरुमा पार्टी महासचिव पोखरेल, भ्रष्टाचारकाण्डमा मुछिएका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटा, भक्तपुरबाट निर्वाचित सांसद महेश बस्नेत, सांसद नविना लामा, कोमल वली, राजनीतिक सल्लाहकार विष्णु रिमाल, सञ्चार सल्लाहकार सूर्य थापा र महान्यायाधिवक्ता रमेश बडाल हुन् ।

वाम गठबन्धन गर्दा भएको सहमति कार्यान्वयन नगर्न र सत्ता पनि नछोड्न ओलीमाथि दबाब दिने मुख्य पात्र लुम्बिनी प्रदेशका तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल हुन् । मुख्यमन्त्रीको जिम्मेवारी भन्दा पनि बालुवाटरमा बस्ने वाम गठबन्धनको बैठकलाई चासोपूर्वक हेर्ने पोखरेल तिनै पात्र हुन् जसले ओली र प्रचण्डबीच भएको सहमतिलाई कार्यान्वयन हुन् नदिन मुख्य भूमिका खेले । वाम गठबन्धनको बैठकमा प्रचण्डको राजनीतिक प्रस्ताव खारेज गरिएपछि राजनीतिले नयाँ कोर्ष लिएको थियो ।

नियतमा केपी ओली खराब छन् भन्ने देखिदैन । तर, उनमा म नै राज्य हुँ भन्ने जस्तो अहंकार, आफू अनुकूल नहुनेलाई भित्तासम्मै पुग्ने गरी पेल्ने बानी, उडन्ते गफ गर्ने चरित्र र आफ्नो भक्ति गाउँनेलाई आँखा चिम्लिएर गर्ने विश्वास नै ओलीको कमजोरी देखिन्छ

कुनै जनाधार नभएका राजनीतिक सल्लाहकार रिमाल र महान्याधिवक्ता बडालबाहेक अन्य पात्र ‘बा’ को सधैं नजिक बनिराख्न उत्तेजित अभिव्यक्ति दिएर एमाले पार्टीलाई ‘ड्यामेज’ गराउन उद्यत थिए । लामा, बास्कोटा, थापा, बस्नेत र वलीका सार्वजनिक अभिव्यक्तिहरुले ‘बा’ को मात्र पक्षपोषण गथ्र्यो, त्यसले पार्टीलाई कुनै फाइदा पुग्दैन थियो ।

बालुवाटारमा हुने हरेक भेटघाट र छलफलको निष्कर्ष ‘बा’ लाई ब्रिफिङ गर्ने जिम्मेवारी राजनीतिक सल्लाहकार रिमालले लिएका थिए । उनको ब्रिफिङ नेता लक्षित र पूर्वाग्रह प्रेरित हुन्थे । जसको परिणाम माधव नेपाल र प्रचण्डसँग ओलीको सम्बन्ध टाढा बनायो । एमालेलाई ‘अरिंगाल’ मा रुपान्तरण गरेर ओलीलाई स्थायी प्रधानमन्त्री बनाउने उनीहरुको योजना त्यत्तिबेला तुहियो, जतिबेला बालुवाटारमा वाम गठबन्धन टुटाएर मुलुकलाई निर्वाचनमा धकेल्ने योजना बन्यो ।

मुलुकलाई निर्वाचनमा लैजाने र त्यसपछि एमालेको एकल सरकार बनाउने योजना महान्यायधिवक्ता बडालले अघि सारेका थिए । सरकारको निर्णय राष्ट्रपतिले स्वतः स्वीकार गर्ने भएकाले निर्वाचनमा जान एमालेलाई कुनै समस्या नहुने राय महान्यायधिवक्ता बडालले प्रधानमन्त्री ओलीलाई दिएका थिए । सरकार पनि त्यही अनुरुप अघि बढ्यो, तर उसको योजनामा दुई पटकसम्म अदालत तगारो बनेपछि प्रधानमन्त्री ओली बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेर आफ्ना सहकर्मीलाई धारे हात लगाउन पुगे ।

यस अवधिमा ‘अनुचर’ हरु गोयवल्स शैलीमा उत्रिए । अरु राजनीतिक दल र त्यसका नेताहरुलाई तुच्छ गाली गरे, ‘बा’ को भजन गाए । ओली प्रधानमन्त्री भएपछि सुरुका दिनमा आफ्नो टिममा राम्रै मान्छेहरु नियुक्त गरेका थिए । सञ्चार विभागमा डा.कुन्दन अर्याल, महान्यायधिवक्तामा अग्नि खरेल, परराष्ट्र सल्लाहकारमा डा.राजन भट्टराई । तर, यिनीहरुलाई पदमात्र दिइएको थियो, भूमिका थिएन । पछि डा.अर्यालको स्थानमा सूर्य थापा, खरेलको स्थानमा बडाल र राजनीतिक सल्लाहकार रिमाल हाबी देखिए ।

सरकारमा मुख्य सहयोगीको भूमिका पाएका सञ्चारमन्त्री गोकुल बास्कोटा ७० करोड भ्रष्टाचार काण्डमा फसे । मन्त्री पद पाइहालिन्छ कि भनेर महेश बस्नेतले ‘बाँदरभक्ति’ देखाउन कहिले छाडेनन्, उनको यो प्रवृत्ति अहिले पनि कायमै छ । सांसदमा शुद्ध उच्चारण गरेर बोल्न नजान्ने सांसद नवीना लामा ‘बा’ को मुख हेर्न जाँदा लड्डु मात्र बोकेर जाँदिन थिइन्, व्यापारिक फाइदाका प्रशस्त योजना पनि सँगै हुन्थे ।

तनावका बेलामा मीठो स्वरको गीत सुनाउन बालुवाटार छिर्ने गरेकी गायिका कोमल वलीको अभिव्यक्तिसमेत एमालेलाई ड्यामेज गर्ने खालका थिए । यही सम्बन्धको सदुपयोग गरेर उनले धेरैलाई विभिन्न ठाउँमा ‘फिट’ गर्न सफल भइन् । अर्को खलपात्र हुन सञ्चारविज्ञ थापा । सञ्चारमाध्यमलाई प्रलोभन देखाएर वास्तविकताभन्दा बाहिर गएर समाचार सम्प्रेषण गराउन केही समय थापा सफल भएकै मानिन्छ ।

नियतमा केपी ओली खराब छन् भन्ने देखिदैन । तर, उनमा म नै राज्य हुँ भन्ने जस्तो अहंकार, आफू अनुकूल नहुनेलाई भित्तासम्मै पुग्ने गरी पेल्ने बानी, उडन्ते गफ गर्ने चरित्र र आफ्नो भक्ति गाउँनेलाई आँखा चिम्लिएर गर्ने विश्वास नै ओलीको कमजोरी देखिन्छ । यही कमजोरीको फाइदा उठाएका पोखरेल, रिमाल, बास्कोटा, बस्नेत, थापा र लामाहरु जस्ता पात्रलाई यही मंसिर ४ गतेको चुनावमा एमाले मतदाताले नै ठेगान लगाउने निश्चित छ ।