सरकारले चुनावलाई प्रभावित पार्नेगरी कर्मचारी सरुवा गर्‍यो: एमाले 

सरकारले चुनावलाई प्रभावित पार्नेगरी कर्मचारी सरुवा गर्‍यो: एमाले 


ग्लोब नेपाल
54
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले काम गरेको आरोप लगाएको छ । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेकत विशाल भट्टराईले ४ मंसिरमा हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले काम गरेको आरोप लगाएका हुन् । निर्वाचनलाई प्रभावित गर्नेगरी कर्मचारी सरुवा गरेको, विधेयक ल्याएको, विवेकको प्रयोग नगरी बहुमतको बलमा पारित गरेको आरोप लगाएका उनले सरकारलार्य तत्काल भइसकेका सरुवा बदर गर्न र नयाँ सरुवा, नियुक्ति नगर्न चेतावनी दिए । 

‘कामचलाउ सरकारको रूपमा रहेको सरकारले धमाधम दूरगामी महत्त्वका विधेयक ल्याउने र कर्मचारीको जथाभावी सरुवा गरिरहेको छ । निर्वाचन प्रभावित गर्ने गरी छानीछानी सीडीओ र प्रहरी लगिएको छ,’ भट्टराईले भने, ‘रिक्त भएको ठाउँमा निर्वाचन आयोगको सहमति लिएको भए हामीले विरोध गर्ने थिएनौं । अहिले मिल्ने भए झण्डै बोक्नेलाई जिल्लामा पठाउने काम गरिरहेको छ ।’

काम चलाउ सरकारको हैसियतमा रहेका सरकारले दीर्घकालीन महत्वका निर्णय गरेको भन्दै उनले जथाभावी, मनलाग्दी, निर्वाचन प्रभावित पार्नेगरी सरकारले छानीछानी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पठाएको आरोप लगाए । 

राजनीतिक आस्थाका आधारमा सरकारबाट हुने  विभेदविरुद्ध एमाले उत्रिने उनकाे चेतावनी छ ।