‘देशको दुर्गति हुनुमा दलहरू मात्रै हो कि कर्मचारी पनि जिम्मेवार हो ?’

‘देशको दुर्गति हुनुमा दलहरू मात्रै हो कि कर्मचारी पनि जिम्मेवार हो ?’


ग्लोब नेपाल
270
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगविना कुनै पनि देशले काम गर्न नसक्ने बताएका छन्।

बुधबार निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको बताएका हुन् । उनले नेताहरू चुनाव जितेर सरकारमा आउने र निश्चित समय बस्ने तर कर्मचारी स्थायी सरकारका रूपमा लिइने पनि बताए।

प्रधानमन्त्री देउवाले कर्मचारीहरू दुर्गममा खटायो भने काम गर्न नजाने पनि बताए । उनले कर्मचारीलाई तलब खुवाउन पनि विदेशीसँग सहयोग माग्नुपर्ने अवस्था सिर्जना भएको बताएका थिए। साथै उनले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका थिए।

स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेको बेलामा समेत देश विकास हुन नसकेको उनले गुनासो गरे । ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन । सत्य कुरा हो । अस्थायी सरकार हो, यो अब जनताले भोट हाले भने अर्को आउँछ । यो देशको दुर्गति हुनुको जिम्मेवारी को हो ? राजनीतिक दलहरू मात्रै हो कि ब्युरोकेसी पनि हो ? किन काम भइरहेको छैन, अहिले यहाँ ? व्यापक छलफल गरौँ’, प्रधानमन्त्री देउवाले भने,‘हामी त ५ वर्षका लागि हार्ने हार्छ, जित्ने आउने हो । तपाईंहरू त पेन्सनसम्म हुनुहुन्छ नि । काम नै भएको छैन, दुर्गति छ, देशको । यसको व्यापक छलफल हुन जरुरी छ । बाटो बन्दै, कर्मचारी जाँदैनन्, साइन गर्छन् फर्किहाल्छन् । बस्दै बस्दैनन् । त्यसकारण यसको व्यापक छलफल हुनुपर्छ । देशको दुर्गति भइरहेको छ, केही काम भएको छैन ।’

जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्ने उनले बताए।