प्रचण्ड र जनार्दनबीचको मनमुटाब एउटै मञ्चमा छताछुल्ल

प्रचण्ड र जनार्दनबीचको मनमुटाब एउटै मञ्चमा छताछुल्ल

प्रचण्डको रक्षक नै मै हुँः जनार्दन, तपाईंलाई हुर्काउने म हुँः प्रचण्ड


ग्लोब नेपाल
108
Shares

काठमाडौं । महासचिव चयनदेखि नै असन्तुष्ट रहेका अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमै आलोचना गरेपछि दुवै नेताबीच घोचपेच र सवाल जवाफ चलेको छ ।

बुधबार अनेरास्ववियु क्रान्तिकारीको फोर्स घोषणा कार्यक्रमका प्रमुख अतिथि प्रचण्ड र विशिष्ट अतिथि शर्माबीच एउटै मञ्चमा मनमुटाब छताछुल्ल भएको छ । प्रचण्ड कार्यक्रमको सुरुमै बोल्न चाहन्थे । तर जनार्दनले आफू पहिले बोल्ने जिद्दि गरेपछि आफूले छाडेको प्रचण्डले बताए ।

शर्माले आफू उपमहासचिव नभई संगठन विभाग प्रमुखको हैसियतमा बोल्न उभिएको भन्दै सुरुदेखि नै प्रचण्डसँगको असन्तुष्टि पोखेका थिए । ‘म नीति र नेतृत्वलाई सदैव रक्षा गर्ने मान्छे हुँ, सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायित्व हो । त्यो कुरामा म गम्भीर छु’शर्माले अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भनेका थिए, ‘तर नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्छ भन्ने मेरो माग हो ।’

अराजक गर्नेलाई नेतृत्वले पुलपुल्याउने कुरा खराब भएको उनले बताए। ‘संगठन विधि र पद्धतिमा बस्नपर्यो, पद र शक्तिको होडमा आज कुरा गर्ने होइन,’ शर्माले भने, ‘विद्यार्थी संगठनमा देखिएको समस्याको समाधानका लागि लाग्नुहोस्।’

जनार्दनको यो कुरा सुनेका प्रचण्डले जनार्दनलाई हुर्काएको र रक्षा पनि आँफैले गरेको बताए। प्रचण्डले भने, ‘जनार्दनजीले जाँदा जाँदै भन्नुभयो नीति र नेतृत्वको रक्षाको कुरा । म तपाईंहरुलाई भन्न चाहान्छु –जनार्दनलाई रक्षा गर्न र हुर्काउन प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा पनि सवैले बुझ्न जरुरी छ ।’

प्रचण्डले शर्माको रक्षा र विकास गर्ने कुरामा आफ्नो मुख्य भूमिकालाई नबिर्सन चेतावनी दिए ।प्रचण्डले आफूले सबै खालको आन्दोलनको नेतृत्व गरिसकेकोले राम्रो उत्तराधिकारीको खोजी गरिरहेको बताए। तर, गुटगट प्रवृत्तिबाट माथि उठ्ने उत्तराधिकारी नभएको प्रचण्डको भनाई थियो।

‘मैले त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ, जनयुद्धको पनि नेतृत्व गरेँ, संविधानसभाको पनि नेतृत्व गरेँ, संघीय लोकतान्त्रिक गणतन्त्रको पनि, मेरो लागि धेरै चिज भएकै छ। अब मेरो सपना के हो त ? राम्रो उत्तराधिकारीहरू तयार हुन्’, प्रचण्डले भने ।