सिट बाँडफाँट कार्यदलले शीर्ष नेतालाई बुझायो प्रतिवेदन

सिट बाँडफाँट कार्यदलले शीर्ष नेतालाई बुझायो प्रतिवेदन


ग्लोब नेपाल
810
Shares

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे मोडालिटी तय गर्न बनेको कार्यदलले प्रतिनिधि सभा १ सय ६५ र प्रदेश सभातर्फका ३ सय ३० निर्वाचन क्षेत्रमा मोटामोटी सहमति जुटाएर शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।

बिहीबार साँझ कार्यदलले शीर्ष नेतृत्वलाई आफ्नो प्रतिवेदन बुझाएको हो । कार्यदलका सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार सिट संख्या भने शीर्ष नेताहरूले नै टुंग्याउने गरी प्रतिवेदन बुझाइएको हो । कार्यदलले बिहीबार दिनभर छलफल गर्दा पनि केही निर्वाचन क्षेत्रमा दुई दलको र केहीमा तीन दलको दाबी भएका कारण सबैको दावीसहितको प्रतिवेदन बुझाएको पुनले जानकारी दिए ।

शीर्ष नेतासहितको कार्यदलको बैठकमा संयोजक कृष्ण सिटौलाले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

कार्यदलका एक सदस्यका अनुसार कांग्रेसले दाबी गरेको ४३ सिट, माओवादीले दाबी गरेको १५ सिट, एकीकृत समाजवादीले दाबी गरेको ८ सिट, जसपाले दाबी गरेको ९ सिटमा अन्य दलले दाबी गरेका छैनन् । एमाले बलियो रहेको १३ सिटमा कसैले दाबी गर्न सकेका छैनन् । ती नेताका अनुसार २८-३० सिटमा कुरा मिल्न सकेको छैन । केही निर्वाचन क्षेत्रमा चारै दलले दाबी गरेकाले सहमति जुटिसकेको छैन।