आगामी निर्वाचनमा एमाले-लोसपाबीच तालमेलको तयारी

आगामी निर्वाचनमा एमाले-लोसपाबीच तालमेलको तयारी


ग्लोब नेपाल
405
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच आगामी निर्वाचनमा चुनावी तालमेलको तयारी अघि बढेको छ ।

सत्ता गठबन्धनसँग तालमेलको प्रयास सकरात्मक हुन नसकेपछि लोसपाले एमालेसँग सहकार्यका लागि छलफल गरिरहेको छ। प्रतिनिधि सभा निर्वाचनमा तालमेलका लागि लोसपाका अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लगातार संवाद भइरहेको छ।

सत्ता गठबन्धनमै मिसिने लोसपाको चाहनामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी बाधक बनेपछि एमालेसँग तालमेल तयारी भएको हो। आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि सिट भागबन्डासहित केही दिनमै सम्झौता तयारी भइरहेको लोसपा अध्यक्ष ठाकुरनिकट एकजना नेताले बताएका छन्।

ठाकुर-ओली भेट हुनुभन्दा अघि र पछि पनि एमाले संसदीय दलका उपनेता समेत रहेका उपाध्यक्ष सुवास नेम्वाङ तथा नेता गोकुल बास्कोटा र लोसपा अध्यक्ष ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोबीच पटक-पटक भेटवार्ता भएको स्रोतको दाबी छ। अनौपचारिक छलफल सकारात्मक मोडमा रहेको दुवै पक्षका नेताहरु बताउँछन् ।

लोसपा मधेश प्रदेशका ३२ मध्ये १९ सिट आफूहरुले पाउनुपर्ने पक्षमा छ। स्थानीय चुनावमा राम्रो नतिजा ल्याएको एमाले पनि मधेशमा आफ्नो पकड यो चुनावमा बढाउन चाहन्छ।