भारतलाई पराजित गर्दै नेपाल समूह विजेता

भारतलाई पराजित गर्दै नेपाल समूह विजेता


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपालले श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा भारतलाई पराजित गरेको छ ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको हो । समूह विजेता र उपविजेताको टुंगो लाग्ने खेलमा उत्कृष्ट पूनरागमनका साथ नेपालले ३-१ को विजय हासिल गरेको हो ।

पहिलो हाफको अन्तिम मिनेटमा १-१ को बराबरी गरेको नेपालले दोस्रो हाफमा २ गोल थपेको थियो। नेपालका लागि सरोज दर्लामी, युनेश बुढाथोकी र सुवास बमले समान १ गोल गरेका छन् । २५ औं मिनेटमा भारतका लागि ड्यानी मेतीको गोलमा भारतले अग्रता लिएको थियो । ४५ औं मिनेटमा सरोजले बराबरी गोल फर्काएका थिए । दोस्रो हाफको चौथो मिनेटमा नै युनेशको गोलबाट नेपालले अग्रता लिएको थियो । ६७ औं मिनेटमा सुवासले गोल थपेका थिए । यस जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ ।

नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारत २ खेलमा ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले हराएको थियो । भारतले पनि भुटानलाई ३-० ले हराएको थियो । दुबै खेलमा हार व्यहोरेको भुटान बाहिरिसकेको छ ।

प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुईले सेमिफाइनलमा स्थान बनाउने छन्।