काठमाडौं । आगामी निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छपाइको काम आजबाट सुरु हुँदैछ । निर्वाचन आयोगले ७ मध्ये चार वटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिक तर्फको मतपत्र आजबाट छाप्न सुरु गर्दैछ ।
आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र आजबाट छाप्न लागिएको हो । बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छापिने उनले बताए ।
चार वटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले बताएको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक तर्फको नमुना मतपत्र छपाइ सकिए लगत्तै प्रदेश सभा सदस्यको समानुपातिक तर्फको मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ करिब २० लाख नमुना मतपत्र छापिने छन् ।
प्रतिक्रिया