विदेश जान २७ हजार बढी नर्सले लिए अनुमति

विदेश जान २७ हजार बढी नर्सले लिए अनुमति


ग्लोब नेपाल
135
Shares

काठमाडौं । सरकारले बेलायतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने तयारी गर्दै छ । त्यसका लागि बेलायतसँग समझदारी पत्रमा सम्झौता गरिएको थियो । नेपालले पहिलो चरणमा बढीमा २०० नर्सलाई बेलायत पठाउने गरी तयारी गरेको छ । तर, बेलायतमा यो भन्दा अगाडि नै ५ हजार भन्दा बढी नर्सहरू कार्यरत रहेका छन् ।

गत वर्ष ४०० भन्दा बढी नर्सहरू बेलायत पुगेका छन् । उनीहरू व्यक्तिगत श्रम स्वीकृति लिएर गएका हुन् । बेलायतमा सरकारले कामदार पठाउँदैन । उनीहरू सबै जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएकाहरू हुन् ।

नेपालीहरूले बेलायतमा गर्दै आएको कामप्रति बेलायतका रोजगारदाता सन्तुष्ट देखिन्छन् । जसले गर्दा संस्थागत रूपमा नै कामदार लैजान बेलायत तयार भएको हो । अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संस्थागत रूपमा नै नर्सहरू पठाउने गरी तयारी थालिरहेको छ ।

अहिले कोही म्यानपावर व्यवसायी मार्फत गइरहेका छन् भने कोही व्यक्तिगत रूपमा स्पोन्सर खोजेर गइरहेको हुन् । बेलायतमा नेपाली नर्सहरूलाई पठाउँदै आएको एजेन्सी ओईटी प्रिप्रेशन नेपालका अध्यक्ष भक्तबहादुर केसीले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर जानेको संख्या बढ्दो क्रममा रहेको बताए ।

नेपाली नर्सहरू कसरी जान्छन् ?
बेलायतले डिप्लोमा, स्नातक र स्नातकोत्तर गरेका सबै खासका नर्सहरूलाई रोजगारीका लागि लगिरहेको छ । सामान्यता २ वर्षका लागि भिसा दिने गरेको छ । तर, बेलायत पुगेकाहरू नेपाल फर्किने सम्भावना एकदमै कम रहेको अध्यक्ष केसीले बताए ।

बेलायतमा रोजगारीका लागि जान सबैभन्दा पहिला नेपालको नर्सिङ काउन्सिलबाट उपलब्ध गराउने लाइसेन्स लिएको हुनुपर्छ । त्यसपछि व्यावसायिक अंग्रेजी परीक्षा (अक्कुपेसनल इङ्लिस टेस्ट– ओईटी) पास गर्नुपर्छ । त्यो पास भएपछि एजेन्सीले बेलायतमा रोजगारीका अवसरहरू खोजिदिन्छन् । ओईटीको लिस्निङमा ‘बी’, राईटिङमा ‘सीँ’, रिङिडमा ‘बी’, स्पिकिङमा ‘बी’, ल्याउनुपर्छ ।

यो परीक्षा भौतिक उपस्थितिमै नेपालमा हुन्छ । त्यसका लागि सेन्टरमा जानुपर्छ । नेपालमा काठमाडौँको डिल्लीबजार र चितवन गरी दुई ठाउँमा सेन्टर छन् । त्यही गएर भौतिक उपस्थितिमा ओईटी परीक्षा दिनुपर्छ । यो पास गरिसकेपछि युकेको नर्सिङ एण्ड मिडवाईफरी काउन्सिलको परीक्षा पास गर्नुपर्ने हुन्छ । यसलाई सामान्य भाषामा कम्प्युटर बेस्ड टेस्ट (सीबीटी) भनिन्छ । त्यो पास भइसकेपछि इलिजिबल हुन्छन् ।

युकेमा रहेका फेमिली तथा आफन्तले स्पोन्सर गरेर नेपालबाट बोलाउने गरेका छन् । विशेष गरी युकेमा धेरै नेपालीहरू ब्रिटिस आर्मी भएकाले उनीहरू मार्फत नै जाने गरेको अध्यक्ष केसीको भनाई छ । स्पोन्सर नभईकन बेलायतले भिसा दिँदैन । त्यसका लागि या कुनै व्यक्ति युकेमा रहेर उनले स्पोन्सर गरेको हुन्छ, या कुनै रोजगारदाताले गर्नुपर्‍यो ।

भिसा थपियो भने उनीहरू उतै बस्छन् भने नथपियो भने नेपाल फर्किने गरेको उनको भनाई छ । प्राय व्यक्ति युके गइसकेपछि नेपाल नफर्किएको अध्यक्ष केसीले बताए । रोजगारदाताले भिसा थप गरिदियो भने बस्न पायो नत्र फर्किनुपर्ने हुन्छ ।

सबै प्रक्रिया पुरा भएर भिसा आइसकेपछि श्रम स्वीकृति लिनुपर्छ । श्रम स्वीकृति लिएर उनीहरू युके जान्छन् । तर, कमै मात्रा फर्किन्छन् । युके जानको लागि सामान्यता ५ लाख रुपैयाँसम्म खर्च लाग्ने गरेको छ । उता गएर उनीहरूले मासिक २ देखि ४ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

अमेरिका जान यतैबाट पिआर फिक्स
यसरी व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति लिएर युके मात्र नभई अन्य देशमा पनि नेपाली नर्सहरू जाने गरेका छन् । नेपाल नर्सिङ काउन्सिलको तथ्याङ्क अनुसार साउनसम्म २७ हजार ४७२ जनाले अनुमति लिएका छन् । वैदेशिक रोजगारीका लागि जान भन्दै उनीहरूले काउन्सिलबाट अनुमति लिएका हुन् ।

२०७८ को वैशाखदेखि चैतसम्म मात्र ५ हजार ९३ जनाले गुड स्ट्याण्डिङ सर्टिफिकेट (जीएसआर) लिएका छन् । साउन मात्र १ हजार ७०४ जनाले जीएआर लिएको काउन्सिलको तथ्याङ्कले देखाएको छ । अनुमति लिएका सबै विदेश गएको हो वा होइन भन्नेबारे काउन्सिललाई जानकारी छैन ।

नेपालबाट प्रत्येक वर्ष ५०० भन्दा बढी नर्सहरू अमेरिका जाने गरेका छन् । अमेरिका जाने नर्सहरूको यतैबाट ‘पिआर’ फिक्स हुन्छ । युके, क्यानडा तथा खाडी मुलुक जाने नर्सहरू नेपाल फर्किने आधार रहन्छ । अमेरिका गएकाहरूको नेपालबाटै पिआर फिक्स भएकाले फर्किन अवस्था रहँदैन ।

त्यस्तै अस्ट्रेलिया, क्यानडा, नर्वे, डेनमार्क, न्युजिल्यान्ड लगायतका देशमा समेत नेपाली नर्सहरूको आकर्षण छ ।