स्थायी शिक्षकको नतिजाः मागभन्दा कम उत्तीर्ण, विषयगत शिक्षकको चरम अभाव !

स्थायी शिक्षकको नतिजाः मागभन्दा कम उत्तीर्ण, विषयगत शिक्षकको चरम अभाव !

'पाठ्यक्रमले निर्दिष्ट गरेको क्षेत्र नबुझ्दा र तयारी नगर्दा नतिजा खस्कियो'



काठमाडौं । शिक्षक सेवा आयोगले सार्वजनिक गरेको माध्यामिक तह शिक्षक तृतिय श्रेणीको सार्वजनिक गरेको नतिजा अनुसार अझै देशका विभिन्न विद्यालयहरुमा विषयगत शिक्षकको चरम अभाव हुने संकेत देखिएको छ ।

आयोगले सार्वजनिक गरेकाे शिक्षक छनोटको परीक्षामा दरबन्दी अनुसार कुनै विषयमा पनि प्रतियोगी(उम्मेदवार) उत्तीर्ण हुन नसकेपछि अबको एक दशक नपुग्दै विद्यालयमा विषयगत शिक्षकको चरम अभाव हुने विज्ञहरूले आशंका गरेका छन् । आयोगले २०७८ माघमा माध्यमिक तहमा एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि खुला प्रतियोगितात्म माध्यमबाट परीक्षा लिने गरी विज्ञापन आह्वान गरेको थियो । उक्त विज्ञापनअनुसार गत वर्ष चैत १५ गते आयोगले पहिलो चरणमा समान्य परीक्षा सञ्चाल गरेको थियो । उक्त परीक्षामा ३२ हजार ९७ जनाले परीक्षा दिएकोमा ३ हजार ८८६ मात्र उत्तीर्ण भएका थिए ।

सामन्य परीक्षामा उत्तीर्ण भएका परीक्षार्थी (उम्मेदवार)हरुको द्वितिय चरण अन्र्तगत गत असार ९ गते आयोगले लिएको विषयगत परीक्षामा चाहिए जति उम्मेदवार(परीक्षार्थी) उत्तीर्ण हुन नसकेपछि विषय शिक्षक पाउनै सकस देखिएको हो । आयोगको तथ्यांकअनुसार आवेदन दिने पर्याप्त भए पनि उत्तीर्ण हुने संख्या ज्यादै न्यून रहेको छ ।

देशभर (सातै प्रदेश)मा नेपाली विषय शिक्षकको २३१ रिक्त दरबन्दीको लागि १० हजार १३७ जनाले आवेदन दिएका थिए । जसमा दुवै चरणको परीक्षामा उत्तीर्ण भएर २२९ जना मात्रै अन्तर्वार्तासम्म पुगेका छन् । यस्तै देशका सातै प्रदेशमा गणित विषयको २८९ जना शिक्षकको दरवन्दी रिक्त थियो । जसमा सातै प्रदेशबाट गरी ३ हजार ७५० आवेदन परेकोमा जम्मा १४१ जना अन्तर्वार्ताको लागि छनोट भएका आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी देशका सातवटै प्रदेशमा विज्ञान विषयका ४३५ रिक्त दरबन्दीका लागि देशभरबाट २ हजार ८० आवेदन परेको थियो । जसामा आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ३८३ जना उम्मेदवार मात्रै उत्तीर्ण भएर अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

आयोगले हालै सार्वजनिक गरेको नतिजा हेर्दा देशभर सबैभन्दा बढी गणित विषयका शिक्षकहरुको अभाव हुने देखिएको छ । सातवटै प्रदेशमा गणित विषयमा रिक्त रहेका २८९ दरबन्दीको लागि सातै प्रदेशबाट दोस्रो चरणमा ६६१ जनाले परीक्षा दिएकामा जम्मा १४१ जना मात्रै अन्तर्वार्ताको लागि छनोट भएका छन् । यो संख्या अन्य विषयको तुलनामा झण्डै मागभन्दा ५० प्रतिशत कम उत्तीर्ण हो ।

आयोगले सार्वजनि गरेको प्रदेशगत नतिजा हेर्दा नेपाली विषयका लागि सबै प्रदेश गरी २३३ रिक्त दरबन्दीको लागि ३७८ आवेदक रहेकामा २३३ जना मात्र उत्तीर्ण भएका छन् । यस्तै प्रदेश १ मा ६१ दरबन्दीका लागि २ हजार ५८१ आवेदन परेकोमा जम्मा ७० जना मात्रै नेपाली विषयका लागि अन्तर्वार्तामा पुग्न सफल भएको आयोगको नतिजाले देखाउछ ।

मधेश प्रदेशमा ३२ रिक्त पदको लागि ६५८ आवेदन परेकोमा जम्मा २३ जना अन्तरवार्तामा पुगेका छन्न्, भने बागमती प्रदेशमा ३५ रिक्त दरबन्दीका लागि १ हजार ६८७ आवेदकमध्ये ३४ जनाले लिखित परीक्षा उत्तीर्ण गरे । गण्डकी प्रदेशमा ५५ रिक्त दरबन्दीको लागि २ हजार ९७ आवेदकमध्ये ५२ जना लिखितमा उत्तीर्ण भए ।

यसैगरी नेपाली विषयमै लुम्बिनी प्रदेशमा २० दरबन्दीको लागि १ हजार ५१५ प्रतिस्पर्धी रहेकोमा २२ जना मात्र लिखित परीक्षा उत्तीर्ण भएका छन् । कर्णाली प्रदेशमा ९ दरबन्दीको लागि ३६८ आवेदन परेकोमा ७ जना उत्तीर्ण भएका छन् भने सुदूरपश्चिममा १९ दरबन्दीका लागि १ हजार २३१ जना आवदेन रहेकामा जम्मा २१ जना उत्तीर्ण भएका छन् ।

यस्तै गणित विषयमा प्रदेश १ मा ७६ पदका लागि ८३२ आवेदन परे पनि जम्मा २८ जना उत्तीर्ण, ४८ पद खाली, मधेश प्रदेशमा १७ पदका लागि २९५ आवेदन परेकोमा ४ जना उत्तीर्ण १३ पद खाली, बागमतीमा ५९ पदका लागि ८१२ आवेदन परेकोमा ५४ उत्तीर्ण ५ सिट खाली, गण्डकीमा ५५ जना माग रहेकोमा ८१६ आवेदकमध्ये ३२ उत्तीर्ण २३ सिट खाली, लुम्बिनी प्रदेशमा ३७ पदको लागि ४७६ आवेदकमध्ये १४ जना उत्तीर्ण र २३ पद खाली हुने भएको छ ।

त्यस्तैगरी कर्णालीमा २९ पदको लागि २८४ आवेदन परेकोमा ८ जना उत्तीर्ण बाँकी २१ पद खाली, सुदूरपश्चिममा १६ पदको लागि २३५ आवेदन परेकोमा ११ जना अन्तर्वार्ताको लागि छनोट भएपछि ५ पद खाली हुने भएको छ ।

आयोगको नतिजा अनुसार विज्ञान विषयमा पनि माग गरेभन्दा कम उम्मेदवार उत्तीर्ण भएका छन् । सातै प्रदेशहरुमा ५८ जना विज्ञान शिक्षकको पदपूर्ति नहुने भएको छ । प्रदेश १ मा सबभन्दा बढी १२७ शिक्षक माग गरिएकोमा ७१४ जनाको आवेदन परेको थियो । त्यसमध्ये १०१ जना मात्र अन्तर्वार्ताको चरणमा पुगेका आयोगको तथ्याङ्कले देखाउछ । यस्तै मधेश प्रदेशमा २२ सिटको लागि १०८ आवेदन परेकोमा जम्मा ६ जना अन्तर्वार्ताको लागि छनोट भए भने बागमतीमा ९१ दरबन्दीको लागि १७० आवेदकमध्ये ९६ जना उत्तीर्ण भएका छन् ।

गण्डकी प्रदेशमा ९८ पदका लागि ७२७ आवेदन पर्यो, तर ९३ जना मात्र लिखितमा उत्तीर्ण भएका छन्, भने लुम्बिनीमा ३३ पदको लागि ३१६ आवेदकमध्ये ३२ जना उत्तीर्ण भएर अन्तर्वार्ताको चरणमा पुगेका छन् ।

कर्णालीमा ३४ दरबन्दीका लागि १५२ आवेदकमध्ये २८ जनाले मात्र लिखित परीक्षा पास गरे भने सुदूरपश्चिममा २९ दरबन्दीको लागि १९७ आवेदन परेका २७ जना उत्तीर्ण भएको आयोगले सार्वजनिक गरेको नतिजामा उल्लेख गरिएको छ ।

आयोगले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, कार्यालय सञ्चालन तथा लेखा, शिक्षा, स्वास्थ्य, शुक्ल यजुर्वेद, कम्प्युटर विज्ञान र न्याय विषयको नतिजा हेर्दा अधिकांश विषयमा माग गरिएभन्दा निकै कम उम्मेद्वार उत्तीर्ण भएर अन्तर्वार्ताको लागि छनोट भएका छन् ।

आयोगले मधेश प्रदेशको लागि स्वास्थ्य र शुक्ल यजुर्वेद संस्कृत व्याकरणको लागि १–१ शिक्षकको विज्ञापन गरेकोमा कोही पनि उत्तीर्ण भएनन् । बागमती प्रदेशको लागि संस्कृत व्याकरण, प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा खुला तर्फबाट एक र महिलातर्फबाट १ संस्कृत भाषा शिक्षक, लुम्बिनी प्रदेशको लागि १ संस्कृत साहित्य शिक्षक उत्तीर्ण हुन् सकेनन् ।

उम्मेदवारले पाठ्यक्रमले निर्दिष्ट गरेको क्षेत्र नबुझ्दा र तयारी नगर्दा नतिजा खस्कियोः आयोग

शिक्षा विदहरुले विश्वविद्यालयले झण्डै आधा दशक लगाएर उत्पादन गरेका जनशक्तिले पुनः सोही विषयतत विशिष्टताको परीक्षण गर्दा न्यूनतम पास नम्बर ल्याउन पनि नसक्नु गम्भीर समस्या भएको बताएका छन् । उनीहरुले समस्या आयोगको परीक्षामा होइन विश्वविद्यालयमो शैक्षिक प्रणामलीमा देखिएको बताए । अब यसको सुक्ष्म अध्ययन गरेर गुणस्तर सुधार गर्न तर्फ नलागे प्रमाणपत्रधारी बेरोजगार झुन्ड मात्र उत्पादन हुने विज्ञहरूको भनाइ छ ।

यता, शिक्षक सेवा आयोगका उपसचिव तथा सूचना अधिकारी सुदर्शन मरहठ्ठाले परीक्षामा समेल भएका उम्मेद्वारहरुले आयोगको पाठ्यक्रमले निर्दिष्ट गरेको क्षेत्र राम्रोसँग नबुझ्दा र तयारी नपुग्दा यस्तो नतिजा आएको बताए ।

उनले शिक्षक सेवा आयोगको परीक्षा पास गर्न खासै तयारी चाहिन्न भन्ने भ्रम पनि कतिपयमा भएकाले सहभागीमध्ये धेरै फेल भएको हुनसक्ने बताए । ‘यसमा विश्वविद्यालयको शैक्षिक गुणस्तर पनि जोडिन्छ नै’, सूचना अधिकारी मरहठ्ठाले ग्लोब नेपालसँग भने, ‘विश्वविद्यालयहरुले पनि कस्ता जनशक्ति उत्पादन गरिरहेका छौं, कुन स्तरको ज्ञान दिइरहेका छौं भनेर समीक्षा गर्न जरुरी देखियो । ’

उनले माग पद संख्याभन्दा कम उत्तीर्ण हुनुको कारण केहो ? यसलाई छलफलमा लैजानका लागि शिक्षामन्त्रीसँग पनि कुरा आयोगले राखेको बताए । सूचना अधिकारी मरहठ्ठाले पाठ्यक्रममा केहि परिवर्तन गर्नेबारे विषय विशेषज्ञ राखेर सुक्ष्म अध्यन गर्ने सोचाइमा आयोग रहेको बताए । उनले भने, ‘यस विषयमा हामीले पनि पाठ्यक्रम रिभाइज(परिर्वतन) गर्ने हो की,यसमा सबै विषय विषेशज्ञ राखेर सुक्ष्म अध्ययन गर्ने की भन्ने सोचमा आयोग छ ।’

आगामी वर्षका लागि हुने विज्ञापनमा यस्ता समस्याहरु नदोहोरिन भन्नका लागि पनि आयोग सूक्ष्म तरिकाले अध्ययन गर्ने तयारीमा रहेको उनले बताए ।