आठ समिति गठन गर्न ओखलढुंगा कांग्रेसको निर्देशन

आठ समिति गठन गर्न ओखलढुंगा कांग्रेसको निर्देशन


ग्लोब नेपाल
3.8k
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई सहयोग पुर्‍याउन विभिन्न ८ वटा समिति गठन गर्न ओखलढुंगा कांग्रेसले भ्रातृ संगठन, नगर र गाउँपालिका कार्य समिति, प्रदेश निर्वाचन क्षेत्रीय कार्य समितिलाई निर्देश गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको परिपत्रअनुसार समिति गठन गर्न निर्देश गरिएको जिल्ला सचिव अजय लुइँटेलले जानकारी दिए । सचिव लुइँटेलका अनुसार क्षेत्रीय सभापतिको नेतृत्वमा प्रदेश सभा क्षेत्रीय कार्य समिति (क) र (ख), ८ वटै नगर र गाउँपालिका कार्य समिति सभापतिको नेतृत्वमा, वडा सभापतिको नेतृत्वमा ७५ वटै वडा कार्य समिति, अध्यक्षको नेतृत्वमा नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति, नेपाल तरुण दल जिल्ला कार्य समिति अध्यक्षकै नेतृत्वमा, नेपाल महिला संघ, नेपाल किसान संघ र नेपाल दलित संघ जिल्ला कार्य समिति पनि अध्यक्षकै नेतृत्वमा गठन गर्न जिल्ला कार्य समितिले निर्देशन दिएको छ ।

नगर तथा पालिका कार्य समितिले प्रतिनिधि खटाइ प्रत्येक वडा, माध्यमिक विद्यालय, क्याम्पस, पालिका स्तरमा नेपाल विद्यार्थी संघको समिति गठन गर्ने, प्रत्येक वडा, पालिका स्तरमा नेपाल तरुण दल, महिला संघ, किसान संघ, दलित संघको समिति गठन गर्न गराउन, स्थानीय तहमा शुभेच्छुक संस्था गठन गर्ने, क्रियाशील सदस्यहरुको सक्रिय उपस्थितिमा बैठक राखी टोल कार्य समिति गठन गर्न बाँकी रहेका टोलमा कार्य समिति गठन गर्ने, टोल, वडा र पालिका कार्य समितिको मासिक बैठक नियमित गर्न गराउन जिल्ला समितिले निर्देश गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई ध्यानमा राखी टोल, वडा, नगर र पालिका तथा प्रदेश निर्वाचन क्षेत्रीय कार्य समिति प्रचार प्रसार समिति अनिवार्य गठन गर्नुपर्ने, तत् इकाइमा निर्वाचन परिचालन समिति अनिवार्य गठन गर्नुपर्ने र विजया दशमी तथा शुभ दिपावली २०७९ को पावन अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सबै वडामा एकसाथ असोज १५ गते गर्ने निर्देश गरिएको छ ।

पार्टीको सांगठनिक अवस्थासहित प्रतिवेदन तयार गरी तहगत रुपमा पठाइ एक प्रति जिल्ला कार्य समितिमा असोज २१ गतेभित्र अनिवार्य पठाउनसमेत जिल्ला कार्य समितिले निर्देशन दिएको छ ।