काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसद्ले दोहोर्याएर पारित गरेको नागरिकता सम्बन्धी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताएका छन् ।
सङ्घीय संसद्को दुवै सदनले पुनः पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयकले स्वतः ऐनको रूप लिने दाबी गर्दै उनले सो विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न नमिल्ने तर्क गरे ।
आज प्रतिनिधिसभा बैठकमा अध्यक्ष यादवले सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभए मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने चेतावनी समेत दिए । संसदले दोहोर्याएर पारित गरेपछि त्यो स्वतः ऐनको रूपमा हुने भन्दै उनले यसले संसदीय मर्यादाकै खिल्ली उडेको दाबी गरे ।
अध्यक्ष यादवले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सन्तोषजनक नरहेको टिप्पणी समेत गरे । मधेसी, आदिवासी, जनजातिलगायतका सबै समुदायको स्वामित्व हुने गरी संविधान संशोधन गर्ने काम गर्न प्रतिनिधिसभाले गर्न नसकेको उनको गुनासो थियो ।


प्रतिक्रिया