नेकपा एसमा समानुपातिक तर्फको उम्मेद्वार चयनको ६ बुँदे मापदण्ड

नेकपा एसमा समानुपातिक तर्फको उम्मेद्वार चयनको ६ बुँदे मापदण्ड


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले समानुपातिक निर्वाचन पद्धति तर्फको उम्मेदवार चयनका लागि ६ बुँदे मापदण्ड बनाएको छ । महासचिव बेदुराम भुसालले आज एक विज्ञप्ति जारी गरी ६ बुँदे मापदण्ड सार्वजनिक गरेका हुन् ।

हाल समानुपातिक तर्फका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई नदोहोर्‍याउने, स्थानीय तह निर्वाचनका उम्मेदवारलाई समानुपातिकको बन्दसूचीमा नराख्ने, विगतमा दुई पटक वा सो भन्दा बढी समानुपातिक सांसद वा राष्ट्रियसभा सदस्य भएकालाई बन्दसूचीमा नराख्ने एकीकृत समाजवादीको मापदण्ड छ ।

त्यस्तै विगतमा अवसर नपाएकालाई प्राथमिकता दिने, सम्बन्धित क्लस्टरको वरिष्ठ व्यक्तिलाई समानुपातिक बन्द सूचीमा प्राथमिकता दिने पनि एकीकृत समाजवादीले बताएको छ । महासचिव भुसालले समानुपातिक निर्वाचन पद्धतिको उम्मेदवार चयनका लागि कार्यक्षमता राम्रो भएको र सक्रिय, पार्टी निर्माणमा राम्रो योगदान गरेको, स्वच्छ छवि भएको, सुशासनको पक्षपातीलाई अवसर दिने र भौगोलिक सन्तुलन मिलाउने पनि बताएका छन् ।