कांग्रेसका यी हस्तीलाई गण्डकी प्रदेशमा चुनाव जित्न मुस्किल !

कांग्रेसका यी हस्तीलाई गण्डकी प्रदेशमा चुनाव जित्न मुस्किल !

सुझबुझपूर्ण ढंगले कांग्रेस चुनावमा गएन भने यसपटक पनि गण्डकी प्रदेशबाट कांग्रेसले ठूलै क्षति व्यहोर्नुपर्ने निश्चित छ ।



काठमाडौं । ०७४ को निर्वाचनमा गण्डकी प्रदेशबाट १ सिटमा मात्र जितेको नेपाली कांग्रेसले यसपटक कति जित्ला ? संघीय संसदमा ११ जिल्लाबाट १८ जना निर्वाचित हुने गण्डकी प्रदेशबाट त्यसबेला कांग्रेस १७, एमाले १३, माओवादीले ५ र नयाँ शक्तिले १ स्थानबाट चुनाव लडेका थिए ।

वाम गठबन्धन बनाएर चुनाव लडेको एमालेले गण्डकी प्रदेशबाट सतप्रतिशत नतिजा निकाल्यो । अर्थात् ऊ १३ स्थानमै विजयी भयो । माओवादी ३ स्थानमा विजयी र २ स्थानमा पराजित भयो । कांग्रेस १ स्थानमा मात्र विजयी भयो । नवलपरासी सुस्ता पूर्वबाट तत्कालीन कांग्रेस महामन्त्री शशांक कोइराला मात्र विजयी भए । नयाँ शक्तिका लागि कांग्रेसले गोरखा–२ मा उम्मेदवार उठाएको थिएन ।

यसपटक राजनीतिक दलहरुबीचको गठबन्धन ठीक उल्टो छ । एमाले एक्लो छ भने कांग्रेसले माओवादीसहितका साना वाम पार्टीहरुलाई साथमा लिएर चुनावी मैदानमा होमिएको छ । एमालेले जस्तै कांग्रेसले गण्डकी प्रदेशबाट १३ सिट लिन सक्ने अवस्था छैन । माओवादीले ५ स्थान, राष्ट्रिय जनमोर्चा, नेकपा (एस) र बाबुराम भट्टराईको समाजवादी पार्टीले पनि भाग खोजेकाले कांग्रेसले १३ स्थान नपाउन सक्छ । माओवादीले ३ स्थानमा चित्त बुझायो भने कांग्रेसले १२ स्थानमा चुनाव लड्न सक्छ ।

गण्डकी प्रदेशको सबै जिल्लामा कांग्रेसको प्रतिस्पर्धी एमाले नै हो । यदि कांग्रेसले १२ स्थानमा चुनाव लड्यो भने एमालेले जस्तै क्लिनस्वीप गर्न सक्छ ? यो पेचिलो प्रश्नको स्पष्ट जवाफ मंसिर ४ पछि मात्र आउला, तर सुझबुझपूर्ण ढंगले कांग्रेस चुनावमा गएन भने यसपटक पनि गण्डकी प्रदेशबाट कांग्रेसले ठूलै क्षति व्यहोर्नुपर्ने निश्चित छ ।

यो प्रदेशबाट कांग्रेसका हस्तीहरु चुनाव लड्छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, पूर्वमहामन्त्री शशांक कोइराला, प्रदेश सभापति शुक्रराज शर्मालगायत दर्जनभन्दा बढी केन्द्रीय सदस्य रहेको गण्डकी प्रदेशमा यसपटक पनि चुनाव लड्ने पुरानै अनुहार देखिएका छन् । स्याङ्जा–२ मा बाहेक अन्य सबै निर्वाचन क्षेत्रमा पुरानै अनुहार चुनावी मैदानमा देखिने छ । स्याङ्जा–२ बाट चुनाव लडेका गोपालमान श्रेष्ठ समानुपातिकमा बसेपछि उक्त क्षेत्रमा सम्भवतः भागवतप्रकाश मल्लले टिकट पाउने छन् ।

कांग्रेसले एउटा मात्र निर्वाचन क्षेत्र भएको मनाङ, मुस्ताङ, म्याग्दी र पर्वत लिएको छ भने लम्जुङ माओवादीका महासचिव देव गुरुङलाई छाडेको छ । यस्तै २ निर्वाचन क्षेत्र भएको जिल्लामा नवलपरासी, स्याङ्जा र तनहुँको दुवै निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र उम्मेदवार हुनेछ । संघीय निर्वाचनमा गोरखा र बाग्लुङमा कांग्रेसको उम्मेदवार नहुन सक्छ । ३ निर्वाचन क्षेत्र भएको कास्कीमा एउटा नेकपा समाजवादी (एस) लाई दिएर दुई क्षेत्रमा कांग्रेसको उम्मेदवार हुनेछ । कास्की–२ बाट नेकपा एसले तुलबहादुर गुरुङलाई उम्मेदवार बनाउँदैछ ।

कांग्रेसले प्राप्त गरेको एउटा मात्र निर्वाचन क्षेत्र भएको ४ वटा जिल्लामध्ये एउटामा कांग्रेस कमजोर देखिएको छ । कांग्रेसले मनाङबाट टेकबहादुर गुरुङ, मुस्ताङबाट रोमी गौचन थकाली, म्याग्दीबाट खेमबहादुर गर्बुजा र पर्वतबाट अर्जुन जोशीलाई उम्मेदवार बनाउँदैछ ।

स्थानीय निर्वाचनमा मनाङमा कांग्रेस र एमाले लगभग बराबरी जस्तै देखिएका छन् । एमालेसँग १ हजार २ सय ५८ मत छ भने, कांग्रेससँग १ हजार २ सय २० मत छ । गठबन्धनको बलमा कांग्रेसले थोरै मेहनत गरे मनाङमा टेकबहादुर गुरुङ विजयी बन्न सक्छन् । यस्तै मुस्ताङमा एमाले अगाडि देखिएको छ । एमालेसँग ३ हजार १ सय २८ र कांग्रेससँग २ हजार ७ सय ४२ मत छ । एमालेले राप्रपालाई साथमा लियो भने अझ बलियो हुने देखिन्छ ।

म्याग्दीमा पनि एमाले अगाडि छ । एमालेसँग २३ हजार २ सय १०, कांग्रेससँग २० हजार ३८, माओवादीसँग ८ हजार ५ सय ९३ र राप्रपासँग २ सय १७ मत छ । कांग्रेस र माओवादीको मत एक भयो भने एमाले पछि पर्नेछ । यसैगरी पर्वतमा पनि एमाले बलियो देखिन्छ । एमालेसँग ३५ हजार ७ सय १६, कांग्रेससँग २९ हजार ३ सय ४४, माओवादीसँग ५ हजार ३ सय ६१ मत छ । गठबन्धनको मत एकै ठाउँमा राख्दा पनि एमाले जति हुँदैन । उक्त क्षेत्रमा राप्रपाको पनि केही मत भएकाले पर्वतमा एमालेलाई पराजित गर्न गठबन्धनले ठूलै मेहेनत गर्नुपर्ने देखिन्छ ।

संघीय निर्वाचनमा तनहुँ, स्याङ्जा र नवलपुर पूर्वका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसका मात्र उम्मेदवार हुने छन् । तनहुँ–१ मा रामचन्द्र पौडेल, २ मा शंकर भण्डारी, स्याङ्जा–१ मा धनराज गुरुङ, २ मा भागवतप्रकाश मल्ल, नवलपुर–१ मा शशांक कोइराला र २ मा विष्णुबहादुर कार्की उम्मेदवार बन्न सक्छन् ।

तनहुँ–१ मा कांग्रेस बलियो देखिएको छ । कांग्रेससँग ३३ हजार १ सय ६, एमालेसँग २२ हजार २ सय १०, माओवादीसँग ८ हजार ४ सय ७४, राप्रपा १ हजार ७ सय ७५ मत छ । माओवादीको मत पनि कांग्रेसमा मिसाउँदा एमाले धेरै पछि पर्न सक्छ । तर यो क्षेत्रमा कांग्रेसले ऐजेरु ठानेको गोविन्दराज जोशी पनि यही निर्वाचन क्षेत्रमा छन् । उनको एकसूत्रीय अभियान कांग्रेस उम्मेदवार पौडेल हराउनु हुनेछ । यो योजनामा जोशी कति सफल हुन्छन् त्यो अहिले नै अनुमान गर्न सकिँदैन ।

क्षेत्र नं. २ मा कांग्रेस एमाले लगभग बराबरी जस्तै देखिन्छ । एमालेसँग ३० हजार ९ सय ६२, कांग्रेससँग ३० हजार ६ सय ६, माओवादीसँग ६ हजार ८ सय ३६, नेकपा (एस) सँग १ हजार २ सय ५२ र राप्रपासँग ९ सय ५५ मत छ । यो निर्वाचन क्षेत्रमा पनि कांग्रेस र माओवादी मिल्दा एमाले पछि पर्न सक्छ । तर कांग्रेसबाट को उम्मेदवार बन्छ भन्ने कुराले धेरै अर्थ राख्ने बताइएको छ । शंकर भण्डारी र प्रदीप पौडेलमध्ये एकजना उम्मेदवार बन्न लगभग निश्चित जस्तै छ । गत निर्वाचनमा पौडेल प्रदेशमा र भण्डारी संघीय निर्वाचनमा पराजित भएका थिए । भण्डारीलाई यदि पौडेलले सहयोग गरेनन भने निर्वाचन एमालेको पक्षमा जाने निश्चित छ ।

स्याङ्जामा पनि कांग्रेसको अवस्था तनहुँसँग मिल्दोजुल्दो छ । क्षेत्र नं. १ पार्टी उपसभापति धनराज गुरुङको निर्वाचन क्षेत्र हो । उनी प्रत्यक्ष निर्वाचन लड्नकै लागि समानुपातिकमा बस्न चाहेनन् । तर त्यो क्षेत्रमा राजु थापा लोकप्रिय मानिन्छन् । स्थानीय निर्वाचनमा दुवै क्षेत्रमा कांग्रेस बलियो देखिएको छ । तर कांग्रेसले उम्मेदवार छनोट गर्दा बुद्धि नपुर्‍याए स्याङ्जाको एउटा क्षेत्र गुमाउन सक्छ ।

नवलपरासीको दुवै क्षेत्रमा कांग्रेसले उम्मेदवार उठाउँदैछ । स्थानीय निर्वाचनमा दुवै क्षेत्रमा कांग्रेस बलियो देखिएको छ । नवलपरासी सुस्ता पुर्वको निर्वाचन क्षेत्र नं. १ कांग्रेस पूर्वमहामन्त्री शशांक कोइरालाको हो । निर्वाचन क्षेत्र नं. २ कांग्रेसको भागमा पर्ने सम्भावना छ । नवलपरासी सुस्ता पूर्वको दुवै क्षेत्रमा कांग्रेसको प्रतिस्पर्धी एमाले हो । स्थानीय निर्वाचनमा क्षेत्र नं. १ मा कांग्रेस अगाडि देखिएको छ भने क्षेत्र नं. २ मा एमाले अगाडि छ । क्षेत्र नं. १ मा कांग्रेसबाहेक अन्य दलको खासै प्रभाव देखिँदैन । यो निर्वाचन क्षेत्रमा राप्रपा तेस्रो ठूलो दल हो । कांग्रेससँग ४० हजार ५ सय ११, एमालेसँग ३९ हजार ९ सय ५१, राप्रपासँग २ हजार ३ सय ७३, माओवादीसँग १ हजार ९ सय २१ मत छ । एमाले र राप्रपा मिल्यो भने कांग्रेस उम्मेदवारलाई अप्ठ्यारो पार्न सक्छ । क्षेत्र नं. २ मा एमाले अन्य दलभन्दा धेरै अगाडि छ । एमालेसँग ४१ हजार ७ सय ९८, कांग्रेससँग ३८ हजार ६ सय १९, राप्रपासँग २ हजार ३ सय ५५ मत छ । यो निर्वाचन क्षेत्रमा एमाले–राप्रपा गठबन्धन बनाएर निर्वाचनमा होमियो भने कांग्रेसले चुनाव जित्न सहज हुने छैन ।

गुरुङ, मुस्ताङका गौचन र म्याग्दीका गर्बुजाको जीत लगभग निश्चित जस्तै छ । पर्वतमा कांग्रेस कमजोर देखिएको छ । गोरखा र बाग्लुङबाट संघीय निर्वाचनमा कांग्रेसले उम्मेदवार उठाउने छैन । गोरखा–१ मा यसअघि माओवादीका हरिराज अधिकारी विजयी भएका थिए भने २ नम्बर क्षेत्रबाट बाबुराम भट्टराई निर्वाचन भएका हुन् । यस पटकको स्थानीय निर्वाचनमा प्राप्त मतलाई विश्लेषण गर्ने हो भने क्षेत्र नं. १ मा कांग्रेसको बढी मत छ भने २ नम्बरमा माओवादी अगाडि छ ।

गोरखा क्षेत्र नं. १ मा कांग्रेससँग २७ हजार ८४, माओवादीसँग २५ हजार ४ सय ७२, एमालेसँग १४ हजार ५ सय ६६, जसपासँग २ हजार ७ सय ५४ र राप्रपासँग २ सय २७ मत छ । यो मतलाई विश्लेषण गरेर कांग्रेसले यो निर्वाचन क्षेत्र छाड्न मानेको छैन । तर गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार यसअघि जसले जितेको हो, उसलाई निर्वाचन क्षेत्र छाड्नुपर्ने भएकाले गोरखा–१ कांग्रेसले माओवादीलाई छाड्न सक्छ ।