काभ्रेमा निर्माण हुने प्रहरी प्रतिष्ठानको भूमि पूजा

काभ्रेमा निर्माण हुने प्रहरी प्रतिष्ठानको भूमि पूजा


ग्लोब नेपाल
81
Shares

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोकमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको आज भूमि पूजा गरिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणका लागि संयुक्त रुपमा भूमि पूजा गरेका हुन् ।

यस परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा तत्कालिन प्रधानमन्त्री सुशील कोइराला र मोदीले गरेका थिए ।

भारत सरकारको १० अर्ब रुपैयाँ अनुदानमा निर्माण हुने यो परियोजना भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठूला परियोजनाहरु मध्येकै एक हो ।

यस परियोजनाको कुल क्षेत्रफल करिब ८४ एकड रहकोमा क्याम्पस भवनको निर्माण १.१० लाख वर्गमिटरको क्षेत्रफल हुनेछ । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरि प्रतिष्ठानका भवनहरुको निर्माण गरिनेछ ।

दिगो विकास मापदण्ड अनुरुप निर्माण हुने यो परियोजना वातावरण एवम् उर्जामैत्री हुनेछ । आधुनिक सेवा सुविधा सहित निर्माण हुने यस संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्ने काठमाडौंस्थित भारतीय दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले यस परियोजनाको निर्माण र द्विपक्षीय सहकार्य तथा विकास साझेदारी अन्तर्गत भइरहेको निरन्तर सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समय भित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरेका थिए ।