काठमाडौं–१ मा प्रकाशमान सिंहको जनमत घटेकै हो ?

काठमाडौं–१ मा प्रकाशमान सिंहको जनमत घटेकै हो ?



काठमाडौं । काठमाडौं–१ मा जहिले पनि प्रकाशमान सिंह भन्ने प्रश्न यसपटक कांग्रेसका लागि पेचिलो बन्ने देखिएको छ । २०६४ को संविधानसभादेखि २०७४ को आम निर्वाचनमा यस क्षेत्रका जनताले सिंहलाई जिताए । जिताए बापत पार्टी, राष्ट्र र जनताका निम्ति सिंहको भूमिका के रह्यो र पुनः उनैलाई किन मतदान गर्नुपर्ने ? यो प्रश्न कांग्रेस उम्मेदवार सिंहका लागि जटिल बन्ने देखिएको छ ।

२०४८ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–४ बाट सिंह प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार थिए, उनी हारे । ०५१ सालमा पनि सिंह नेवार बहुल क्षेत्र नम्बर–३ बाट चुनाव प्रतिप्रस्र्धा गरेका थिए, त्यहाँ पनि उनी पराजित भए । सुरक्षित निर्वाचन क्षेत्र नपाएपछि उनी २०५६ सालको निर्वाचनमा उठेनन्, राष्ट्रिय सभामा सांसद बने ।

०६४ सालमा संविधानसभाको निर्वाचनमा नेवार बहुल क्षेत्र छोडेर उनी क्षेत्री–बाहुनको बाहुल्य रहेको क्षेत्र नम्बर १ बाट उठे । नयाँ बानेश्वर, बुद्धनगर, शंखमुल, थापाथली, बबरमहल र अनामनगर आसपासका क्षेत्र समेटिएको क्षेत्र नं. १ मा कांग्रेस बलियो छ ।

काठमाडौं महानगरपालिकाको १०, ११, २९ र ३१ नम्बर वडा मिलेर यो निर्वाचन क्षेत्र बनेको छ । यो निर्वाचन क्षेत्रबाट सिंहले लगातार जित्दै आएका छन् । यसपटक यो निर्वाचन क्षेत्रमा ४५ हजार १८ मतदाता छन् । जित्नका लागि ११ हजार मत पर्याप्त हुनेछ ।

०६४ सालमा माओवादीको पक्षमा चुनावी लहर चलेर प्रत्यक्षतर्फ कांग्रेस ३७ सिट र एमाले ३४ सिटमा समेटिएको बेला पनि यो क्षेत्रबाट सिंहले सजिलै जितेका थिए । ०७० को दोस्रो संविधानसभा पनि सिंह सजिलै निर्वाचित भए । त्यसबेला सिंहले माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहाल र एमाले उम्मेदवार उमा शर्मालाई ठूलो मतान्तरले पराजित गरेका थिए ।

०७४ को आम निर्वाचनमा सिंहलाई विवेकशील साझा पार्टीका उम्मेदवार रविन्द्र मिश्रले कडा चुनौति दिएका थिए । ठूलो मतान्तरले निर्वाचित हुँदै आएका सिंहले गत निर्वाचनमा मिश्रभन्दा ८ सय १८ मत बढी ल्याएर निर्वाचित भए ।

यो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा भनेकै कांग्रेस र एमालेको हो । स्थानीय तहको निर्वाचन विश्लेषण गर्ने हो भने कांग्रेस अगाडि छ । कांग्रेससँग ९ हजार ८ सय ९५, एमालेसँग ९ हजार ५ सय ४१, राप्रपासँग १ हजार ३ सय ७६ र माओवादीसँग १ हजार १ सय ५९ मत रहेको देखिन्छ । कांग्रेसले माओवादीलगायत कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेको छ भने एमाले–राप्रपा गठबन्धन बन्ने सम्भावना छ ।

यो निर्वाचन क्षेत्रमा एमालेसँग गतिलो उम्मेदवार छैन । एमालेबाट विद्यार्थी कालमै बद्नाम भइसकेका रुपनारायण श्रेष्ठ र काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर विदुर मैनालीको नाम सिफारिस भएको छ । यी दुवै गतिला उम्मेदवार नभएको एमाले कार्यकर्ताको विश्लेषण छ ।

त्यसैले यसपटकको भिड्न्त पनि सिंह र मिश्रबीच नै हुने देखिन्छ । मिश्रले विवेकशील साझा पार्टी संयोजकबाट राजिनामा दिएर राप्रपामा वरिष्ठ उपाध्यक्ष पद लिने तयारी गरेका छन् । एमाले राप्रपासँग गठबन्धन गरेर चुनावमा जाँदैछ । यो परिवेशमा मिश्र एमाले र राप्रपाको साझा उम्मेदवार बन्न सक्ने सम्भावना छ ।

यो निर्वाचन क्षेत्रमा सिंहको निस्कृयता र कांग्रेस महाधिवेशनमा खेलेको भूमिकाबाट धेरै मतदाता रुस्ट छन् । आन्तरिक झगडा र गतिलो उम्मेदवारको अभावले एमाले समस्यामा छ । यसको फाइदा उठाएर मिश्र राजतन्त्रको एजेन्डा बोकेर चुनावी मैदानमा जाँदैछन् । नरम कांग्रेसहरु हिन्दू धर्म र राजतन्त्रको एजेन्डासँग नजिक हुन खोज्ने छन् । मिश्रलाई एमालेले धाप मा¥यो भने पटक पटक परीक्षण भइसकेका सिंहलाई मतदाताले यसपटक आराम दिन सक्ने सम्भावना प्रवल देखिएको छ ।

निर्वाचनको मिति घोषणा हुनुभन्दा अघिदेखि प्रचार प्रसारमा जुटेका स्वतन्त्र उम्मेदवार पुकार बमले पनि केही प्रभाव पार्ने देखिन्छ । बमले न्यूटल मत तान्न सक्छन् । अघिल्लो निर्वाचनमा काठमाडौं–८ बाट उम्मेदवार बनेका बमले सम्मानजनक मत ल्याएका थिए । यसपटक पनि उनले ४ हजार मत कटाउने अनुमान गरिएको छ । उनले लिने मत भनेकै मिश्रले पाउने मत हो । त्यसैले स्वतन्त्र उम्मेदवार बमले ४ हजार मतभन्दा बढी कटाउन सकेनन भने कांग्रेस उम्मेदवार सिंहको विजयलाई कसैले रोक्न सक्दैन ।