सन्दीप लामिछानेविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी

सन्दीप लामिछानेविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी


ग्लोब नेपाल
594
Shares

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ ।

नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले लामिछानेविरुद्ध फरारसूचीमा राख्दै ‘डिफ्युजन नोटिस’ जारी गरेको हो । उनीविरुद्ध तीन दिनअघि (शुक्रबार) नोटिस जारी भएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । डिफ्युजन नोटिस जारीपछि इन्टरपोलका सदस्य रहेका १३५ राष्ट्रका प्रहरीले सन्दीपको खोजी गर्नेछन् । र उनलाई पक्राउ गरेर नेपाल ल्याउन सहयोग गर्नेछन् ।

सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । उनी कहाँ छन् भन्नेसमेत पत्ता लगाउन सकेको छैन ।

सन्दीप आफैँ आएर आरोपको सामना गर्ने विश्वासमा रहेको प्रहरी लामो समय उनी नआउँदा इन्टरपोलको सहयोग लिने निष्कर्षमा पुगेको हो । डिफ्युजन नोटिस जारी भएसँगै अब उनलाई उनी रहेको मुलुकको प्रहरीले पक्राउ गर्ने बाटो खुलेको हो ।