शेखरलाई आफ्नै निर्वाचन क्षेत्रमा समस्या

शेखरलाई आफ्नै निर्वाचन क्षेत्रमा समस्या



काठमाडौं । आन्तरिक लोकतन्त्रको अभ्यासका नाममा ४० प्रतिशत भाग खोजिरहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला यसपटक पनि मोरङ– ६ बाट चुनाव लड्दै छन् । केन्द्रीय नेताको भूमिकामा उनी जसरी प्रस्तुत भएका छन्, त्यो भन्दा फरक वास्तविकता छ उनको निर्वाचन क्षेत्रमा । यसपटक पनि उनी एमाले उम्मेदवार लालबाबु पण्डितसँग पराजित हुनसक्ने अड्कल काट्न थालिएको छ ।

पार्टीभित्र आन्तरिक संघर्ष चर्काएको र विजयी भए कांग्रेस संसदीय दलको नेतामा उम्मेदवार बन्ने भएकाले उनलाई चुनाव जित्न त्यत्ति सजिलो नहुने विश्लेषण गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको काममा जहिले बाधक बन्ने गरेकाले कांग्रेसको एउटा समूह शेखरसँग सन्तुष्ट छैन ।

त्यसो त उनकै गुटका महामन्त्री गगन थापा पनि प्रधानमन्त्री बन्ने तयारी गर्दैछन् । शेखरलाई निर्वाचन क्षेत्रबाटै पाखा लगाउन सकियो भने संसदीय दलको निर्वाचनमा शेखर समूहबाट गगन एक्लो उम्मेदवार हुने छन् । संस्थापन र आफ्नै गुटको एउटा समूह शेखरविरुद्ध लाग्नसक्ने भएकाले उनले चुनाव हार्छन् कि भन्ने अड्कल लगाउन थालिएको हो ।

गत निर्वाचनमा प्रदेशसभामा दुवै उम्मेदवार कांग्रेसका विजयी भए पनि कोइराला ६ सय ७५ मतान्तरले एमाले नेता पण्डितसँग पराजित भएका थिए । प्रदेशसभा (क) बाट कांग्रेसका चुमनारायण तावेदार र (ख) बाट केदार कार्की विजयी भएका थिए । प्रदेशसभामा विजयी उम्मेदवारले प्राप्त गरेको मत कोइरालाले पाउन सकेनन् । यदि पाएको भए उनी सजिलै विजयी हुने थिए । यसको अर्थ सबै कांग्रेसीले कोइरालालाई मत दिएनन् ।

यो निर्वाचन क्षेत्रमा कांग्रेसको संगठन बलियो मानिन्छ । त्यत्ति हुँदाहुँदै पनि संघीय निर्वाचनमा कांग्रेस उम्मेदवार पराजित हुन्छन् । कोइराला लिगेसी भए पनि विराटनगरमा पछि उदाएका नेता भएकाले कांग्रेसको ठूलै समूह शेखरसँग खुशी छैन । यसपटक पनि उनीहरुले शेखरलाई सहयोग नगर्ने संकेत गरिसकेका छन् ।

विराटनगर महानगरपालिकाको ४, ५, ६, ७, ९, ११ र १२ वडा, सुन्दर हरैचाको २ देखि ७ वडा र बुढीगंगा गाउँपालिका यो निर्वाचन क्षेत्रमा पर्छ । यो निर्वाचन क्षेत्रको २० वटा वडामध्ये १२ कांग्रेस, ५ एमाले, १ माओवादी, १ जसपा र एउटा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्थानीय निर्वाचनमा कांग्रेसले २७ हजार ८६, एमालेले २४ हजार ५ सय ५६, माओवादीले ४ हजार ९ सय ९६, जसपा ३ हजार ९ सय ३९, राप्रपा ३ हजार १ सय १५, नेकपा एस २ हजार ३ सय ५५ र लोसपाले ८ सय ९५ मत पाएका थिए ।

स्थानीय तहमा कांग्रेसले प्राप्त गरेको मत कोइरालाले बचाउन सके भने उनी सजिलै विजयी हुने छन् । अझ गठबन्धनको मत पनि जोड्ने हो भने निकटतम प्रतिद्वन्द्वी भारी मतान्तरले पराजित हुने निश्चित छ । तर, गठबन्धनमा समेट्नुपर्ने नाममा कांग्रेस चिढ्याउने काम भयो भने फेरि पनि कोइरालाको पराजय निश्चित रहेको स्थानीयहरु बताउँछन् ।

कांग्रेससँग सुविधाजनक बहुमत हुँदाहुँदै पनि प्रदेशमा दुवै सिट गठबन्धनका अन्य दललाई दिनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुँदैछ । प्रदेश (क) मा माओवादी उम्मेदवार जीवन आचार्य उम्मेदवार बन्ने सम्भावना बलियो बनेको छ । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का छोरी ज्वाइँ हुन् । यसपटक कांग्रेसको बलमा ज्वाइलाई सांसद बनाउने योजनामा प्रचण्ड छन् ।

यो थारु बाहुल्य क्षेत्र हो । यसअघि कांग्रेसका चुमनारायण तादेबारले २३ हजार ५ सय १३ मत ल्याएर निर्वाचित भएका थिए । तत्कालिन बाम गठबन्धनका उम्मेदवार आचार्यले २१ हजार ४ सय ७० मत ल्याएका थिए ।

यसैगरी प्रदेश (ख) मा कोइरालाले कांग्रेसकै उम्मेदवार उठाउन सक्ने छन् । कांग्रेसबाट केदार कार्कीलाई नै दोहोर्‍याउने कि प्रमिला थापालाई उठाउने भन्ने विवाद चर्को छ । आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीलाई नै दोहोर्‍याए थापालाई कहाँ समेट्ने समस्यामा कोइराला छ । ट्रेड युनियन राजनीतिबाट उदाएकी थापालाई समेटिएन भने घात हुनसक्नेतर्फ कोइराला सचेत छन् ।

एमालेले प्रदेश (क) बाट रिता न्यौपाने, निरा भगत र नागेश पोखरेलमध्ये एकजनालाई उम्मेदवार बनाउँदैछ । थारु समुदायको बाहुल्यता रहेको यो क्षेत्रमा निजी स्कुल संचालिका न्यौपानेभन्दा भगत बलियो ठानिन्छ । एमालेले थारु समुदायकी भगतलाई उम्मेदवार बनायो भने प्रचण्डको ज्वाइँ आचार्य पराजित हुनसक्ने अनुमान गरिएको छ । प्रदेश (ख)बाट एमालेले कुनै समयका ‘गुन्डानाइके’ परशुराम बस्नेतलाई उम्मेदवार बनाउने भएको छ । यदि बस्नेतको विकल्पका रुपमा एमालेले रमेश पोखरेललाई अघि सार्न सक्ने बताइएको छ ।