पर्यटक प्रहरी कार्यालय सम्मानित

पर्यटक प्रहरी कार्यालय सम्मानित


ग्लोब नेपाल
594
Shares

काठमाडौं । नेपालमा ४३ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाइयो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपलाई सम्मान गरेको छ । आवश्यक सूचना र सुरक्षा प्रदान गरी नेपाललाई पर्यटकमैत्री गन्तव्यस्थल बनाउन महत्वपूर्ण योगदान पुर्याएकोमा पर्यटक प्रहरी कार्यालयलाई उच्च कदर र सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरिएको छ ।

मन्त्रालयका सचिव सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा नेपाल पर्यटन बोर्डको सभागृहमा आयोजित कार्यक्रममा नेपाल प्रवेश गर्ने विदेशी पर्यटकलाई थप सूचना र सुरक्षा प्रदान गर्ने विषयमा चर्चा गरिएको थियो । पर्यटकहरूको सेवा सुरक्षा एव‌म् आवश्यक सूचनाहरू उपलव्ध गराई पर्यटकहरूलाई पर्न आएका दु:ख पिर मर्का तथा गुनासाहरू समयमै समाधान गरी पर्यटकहरूको नेपाल बसाई सुरक्षीत तथा भय रहित रहेको अनुभुती दिलाउने उदेश्य अनुरूप पर्यटक प्रहरी कार्यालयले काम गर्दै आएकाे छ ।

१२ माघ २०३५ मा स्थापना भएको पर्यटक प्रहरीको लागि छुट्टै भर्ना भने लिइदैंन । नेपाल प्रहरीबाटै पर्यटक प्रहरीमा आउने–जाने काम भइरहन्छ । 

नेपालमा विभिन्न देशबाट पर्यटकहरू आउँछन् । उनीहरूलाई नेपाली भाषा बोल्न आउँदैन । धेरैजसोलाई यहाँको ठाउँ पनि राम्ररी थाहा हुँदैन । समस्यामा परेका पर्यटकको उद्धार गर्नु, गन्तव्यतिर जाने बाटो देखाइदिनु लगायत उनीहरूको शान्ति सुरक्षाबारे पर्यटक प्रहरीले काम गर्छ ।

नेपालमा सबैभन्दा धेरै पर्यटक भारत, चीन, अमेरिका, श्रीलंका, बेलायत, थाइल्याण्ड, दक्षिण कोरियाबाट आउने गरेको पाइन्छ । अन्य देशबाट पनि पर्यटकहरू नेपाल आउँछन् । नेपाल आउने पर्यटकहरूसँग कुराकानी गर्न सहज होस् भन्ने उद्देश्यले पर्यटक प्रहरीका लागि भाषा कक्षा सञ्चालन गर्ने गरिएको पर्यटक प्रहरीले जनाएको छ । 

पर्यटक प्रहरीको काम

– पर्यटकीय स्थलहरूमा गस्ती र पेट्रोलिङ गर्ने
– पर्यटकको लागि आवश्यक सूचना दिने, सूचना आदान–प्रदान गर्ने
– पर्यटकहरूबाट आएको उजुरी, निवेदनउपर छानबिन र कारबाही गर्ने/गराउने
– विनाइजाजत गाइड कार्य गर्नेहरूमाथि नियन्त्रण तथा कारबाही गर्ने
– फौजदारी अपराध सम्बन्धमा सम्बन्धित दूतावासहरूसँग सम्पर्क राखी स्थानीय प्रहरीमार्फत आवश्यक कारबाही गर्ने
– पर्यटकीय स्थलहरूमा पर्यटकको सुरक्षाको व्यवस्था मिलाउने
– होटल तथा ट्राभल, ट्रेकिङ र र्‍याफ्टिङ एजेन्सीहरूमा निरीक्षण, समझदारी र आवश्यक कारवाही गर्ने एवं अध्ययन गरी प्रतिवेदन तयार पार्ने
– समस्यामा परेका पर्यटकलाई सहयोग गर्ने

पर्यटकीय क्षेत्रमा कुनै पनि अभद्र व्यवहार, अश्लील तथा अवाञ्छित काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कारबाहीको लागि पठाउने लगायतका काम पर्यटक प्रहरीले गर्दछ ।