निर्वाचनमा साढे ३ हजार मतदानस्थल अति संवेदनशील

निर्वाचनमा साढे ३ हजार मतदानस्थल अति संवेदनशील


ग्लोब नेपाल
81
Shares

काठमाडौं । गृह मन्त्रालयले सङ्घ र प्रदेश सभा निर्वाचनमा तीन हजार ६५ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको छ । सुरक्षा जोखिम, भौगोलिक अवस्था र मतदाताको सङ्ख्याका आधारमा करिब २८ प्रतिशत मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो । गृहका अनुसार चार हजार चार सय ७८ मतदानस्थललाई संवेदनशील र बाँकी तीन हजार तीन सय ४८ लाई सामान्यको सूचीमा राखिएको छ ।

निर्वाचन आयोगले मङ्सिर ४ मा हुन लागेको निर्वाचनका लागि देशभर कुल १० हजार आठ सय ९१ स्थायी मतदानस्थल कायम गरेको छ । जिल्लाहरूबाटै आएको जानकारीका आधारमा सुरक्षा संवेदनशीलता मूल्याङ्कन गरेर वर्गीकरण गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

करिब सय अस्थायी मतदानस्थल राख्ने आयोगको तयारी छ । स्थानीय तहको निर्वाचनपछि थपिएका एक सय ३५ मतदानस्थललाई गृहले अति संवेदनशीलमा राखेको छ । यस्ता मतदानस्थलमा न्यूनतम तीन नेपाल प्रहरी र नौ म्यादी प्रहरी खटिनेछन् । झैझगडा हुने सम्भावना भएका, विगतमा बुथ लुटिएका, भारतसँगको सीमाक्षेत्रका तथा अति दुर्गम क्षेत्रका मतदानस्थल अति संवेदनशीलको सूचीमा छन् ।