रामपुर । पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दशैं आएको सङ्केत जनाउदथ्यो। दशैंका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो।
पिङ राख्न बेँसीबाट बाबियो खोज्न आउनेको चहलपहलले गाउँमा दशैंको उमंग बढाउने गरेको पाल्पा रामपुर नगरपालिका–७ स्थित विक्रम्दीका मनबहादुर आलेले बताए। उनका अनुसार गाउँका बारीका कान्लाभरी बाबियोले भरिन्थ्यो। ‘बारीका कान्लामा बाबियो पिङ बाट्न नकाटिकन संरक्षण गरेर राखिन्थ्यो, दशैं आउन लाग्यो भनेपछि तल्लो गाउँका स्थानीयवासी (बेँसी) हाम्रा गाउँमा आएर बाबियो काटेर लैजादा बल्ल दशैं आयो भन्ने आभास हुन्थ्यो,’ उनले भने, ‘हिजोआज त कमैले बाबियो खोज्नुहुन्छ, हाम्रै गाउँमा पनि पहिलाजसो पिङ पातलो राख्न थालियो।’
उनका अनुसार विक्रम्दी, भञ्ज्याङबारी, कुसुण्डे, गोलैचे, सर्पराज, छत्तिवनडाँडा, गिजिनडाँडालगायतका विभिन्न गाउँमा काठबाट बनेको चर्खे पिङ राख्ने गरिएकोमा अहिले यो पिङ हराउँदै गएको छ। केही ठाउँमा लिङ्गे पिङ भने राखेको पाइन्छ। पहिलेको तुलनामा यो पिङ पनि कमै राख्ने गरिन्छ।
पिङ राख्न गाउँका सबै साथीभाई बिहानै उठेर बाबियो खोजेर पिङ राखेको स्मरण गर्र्नुछन् महेन्द्र तिवारी। गाउँमा अनिवार्यजसो दशैं र तिहारमा लिङ्गे पिङ राख्ने गरिएकामा अहिले यो राख्न छाडिदै गएको उनी बताउँछन्। उनी भन्छन्, ‘घरदेखि टाढाका गाउँमा पुगेर बाबियो खोजेर ल्याइन्थ्यो, गाउँले सबै जम्मा भएर बाटेर पिङ तयार पारिन्थ्यो, अहिले पिङ बनाउन बाँबियो खोज्ने, बाट्ने झण्झट गर्न छाडियो।’
दशैं सुरु हुनुअघि गाउँका विभिन्न बारी, कान्लामा पुगेर बाबियो काटेर पिङ बनाउन भ्याइनभ्याइ हुने रामबहादुर रानाका दिन अहिले फुर्सदिलो बनेको छ। महिना दिनअघिदेखि नै गाउँघरमा आफैंले नेतृत्व गरेर पिङ हाल्ने रामबहादुर अहिले दशैं चाडमा बाँबियो काट्ने, पिङ बाट्ने गर्न छाडेको धेरै वर्ष भएको बताउँछन्।
‘पिङ खेल्न पहिलाजसो रहर मान्न सबैले छाडेपछि गाउँमा बाँबियो काटेर दुःखसँग तयार पार्न छाडियो, सबै आफ्नै दैनिकीमा व्यस्त बने, गाउँघरमा बजार वस्ती बढ्दै जाँदा पार्कहरु बनेका छन्, सानासाना बालबालिकालाई त्यही लगेर कृत्रिम पिङ खेलाउन थाल्ने क्रम बढ्यो’, उनले भने।
परम्परागत पिङ बनाउने र खेल्नेको उत्साह नहुँदा संस्कृति नै हराउँदै गएको हो। आधुनिक प्रविधिको प्रयोग र सुख सुविधाले पुराना संस्कृति नै हराउँदै जान थालेका छन्। हिजोआज परम्परादेखि नै पाल्पामा चलनचल्तीमा आएको चर्खे, लिङ्गे जस्ता पिङ लोप हुँदै गएको छ। यद्यपि, चर्खे पिङको चुलनामा लिङ्गे पिङ भने पूर्णरुपमा विस्थापित भइसकेको छैन। तर लिङ्गे पिङ पहिलेजसो बाक्लोमात्रामा भने भेटिँदैन।
चर्खे पिङ नखेलेसम्म दशैं आएको अनुभूति नहुने गरेको अनुभव सुनाउँछन्, बलबहादुर राना। चारदेखि आठ जनासम्म बस्न मिल्ने खालको काठै–काठले बनेको यस पिङ खेल्दा निकै आनन्द लाग्ने गरेको भए पनि अहिले कतै देख्न नपाउँदा संस्कृति नै हराउन पुगेकामा उनी चिन्ता गर्छन्।
चर्खे पिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यक पर्ने हुँदा पनि अहिले यहाँबाट हट्दै गएको हो। एकपटकमा धेरै जनासम्म खेल्न सकिने हुँदा पिङ खेलेर मनोरञ्जन लिइन्थ्यो। कतिपय स्थानमा भने काठको अभावमा चर्खे पिङ राख्न छाडिएको स्थानीयवासीको भनाइ छ। हिजोआज वनमा काठ दाउरा काट्न नपाइने नियम लगाएपछि काठको अभावले गर्दा राख्न छाडेको उनीहरुले बताए।
पूर्वी पाल्पाका अर्चले, मित्याल, सहलकोट, झिरुवास, बाकामलाङ, गल्धालगायतका स्थानमा टाढाटाढाबाट दशैंका बेला चर्खे पिङ खेल्न आउनेको घुइँचो रहने गर्थ्यो तर अहिले पिङ राख्ने चलन हट्दै जाँदा गाउँ नै सुनसान बनेको छ। दशैंका दिन एक पटक भएपनि जमिन छोड्नुपर्छ भन्ने मान्यताले पिङ खेलिने गरिन्छ।
आजभोलि युवापुस्ताले पनि त्यति पिङप्रति चासो दिँदैनन्। साना–साना बच्चाका लागि बजारमा आएका प्लाष्ट्रिकको डोरी बाँधेर घर–घरमा पिङ राख्ने चलन भने बढ्न थालेको छ।
गाउँघरमा चनचल्तीमा आएको चर्के पिङ, लिङेपिङ र घुमाउने पिङ खेलेर मज्जा लिँदै आफन्त, साथीभाइ भेटघाट हुने र शुभकामना आदान–प्रदान गर्ने, खुसी साटासाट गर्ने गरिन्थ्यो। कामको व्यस्तता, बाह्य संस्कृतिको प्रभाव, पिङप्रतिको मोह कम हुँदै जाँदा अहिले गाउँघरबाट परम्परागत हाम्रा चाडपर्व झल्किने खालका संस्कृति लोप हुँदै गएका छन्।
प्रतिक्रिया