नवरात्रको सातौँ दिन गरियो कालरात्रि देवीको विशेष पूजा आराधना

नवरात्रको सातौँ दिन गरियो कालरात्रि देवीको विशेष पूजा आराधना


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नवरात्र अर्थात् दुर्गा पक्षको सातौँ दिन आज दसैँ घर वा पूजा कोठामा कालरात्रि देवीको विशेष पूजा आराधना गरिएको छ । वडादसैँ अर्थात् दुर्गा पक्षको नौ दिनसम्म दुर्गा देवीका नौ रुपको विशेष पूजा आराधना गर्ने शास्त्रीय परम्परा छ ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विशेष पूजा आराधना हुने गर्छ ।

यस अवसरमा महाकमाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेषरुपमा पूजा आराधना गरिन्छ । नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुनेलगायत धार्मिक विश्वास छ । यस अवसरमा काठमाडौँ उपत्यका र बाहिरका शक्तिपीठमा पनि भक्तजनको बिहानैदेखि भीड बढेको छ ।

नवौँ दिनसम्म विधिपूर्वक पूजाआराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ । दशैँको महत्वपूर्ण दिन विजयादशमीका अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा र रातो टीका लगाइन्छ । केहीले भने कूल परम्पराअनुसार यसअवसरमा सेतो अक्षताको टीका लगाउँछन् ।

यसैगरी दसैँका अवसरमा बजारमा किनमेल गर्नेको भीड पनि बढ्न थालेको छ । मुख्य बजारमा सामान किनमेल गर्नेको लर्को छ । कति मानिस भने आ-आफ्नो थातथलो फर्केका छन् । कतिले जाने तयारी गर्न थालेका छन् । यात्रुले सार्वजनिक यातायात सहज नभएको गुनासो गरेका छन् । विशेषगरी राजधानी बाहिर जाने यात्रु यातायात व्यवसायीबाट ठगिएको गुनासो हुन थालेको छ ।