दसैँमा बज्ने कालजयी दश गीत (भिडियोसहित)

दसैँमा बज्ने कालजयी दश गीत (भिडियोसहित)


ग्लोब नेपाल
162
Shares

काठमाडौं । दसैँ आउनु केही दिन अगाडिदेखि नं रेडियो/टिभीमा मङ्गल धुन बज्न थाल्दछ । त्यसरी बज्ने दसैँ गीतले झनै दसैँमा रौनकता थपिदिन्छ नेपाली गीत सङ्गीतको इतिहासमा दसैँसम्बन्धी गीतले ठूलो महत्व राखेको छ । सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडवाडसम्बन्धी गीत गाउने गरेका छन्, धेरै दसैँ गीत बज्ने गरे पनि दसैँभरि धेरै बज्ने मुख्य दश गीतले नेपालीको मन छुने गरेको छ ।

विछोडको पिडा नसकी खप्न दसैंको बेलामा…

दसैँसम्बन्धी गीत भन्ने वित्तिकै हामी यो गीतलाई सम्झिन्छौँ । कालजयी र नेपालीको दसैँ झल्काउने आलाप बजेपछि दसैँ आइसकेको अनुभूति हुन्छ । यो गीत दसैँसम्बन्धी पुरानो चर्चित गीत हो । सन् १९७० को दशकमा नारायण गोपालले दार्जिलिङमा गएर दिलमाया खातीलाई भेटेरै यो गीत गाउन आग्रह गरेका थिए । त्यसपछि कलकत्तामा नारायण गोपाल र दिलमाया खातीको स्वरमा रेकर्ड गरिएको युगल गीतकै ऐतिहासिक गीत पनि हो यो गीत । रेडियो नेपालमा दसैँको गीतमध्ये धेरै बजेको यो गीत अहिले सबै रेडियोले दसैँमा बजाउने गरेका छन् ।

नमुछे आमा दहीमा टीका…

दसैँ आउनेवित्तिकै रेडियो/टिभीमा बज्ने यो गीतले पनि नेपाली मन दुख्ने गरेको छ । नारायण रायमाझीले एकसरो लोकभाकामा गाएको यो गीत २०५७ सालमा कृष्णभक्त राईले विभिन्न बाजा राखेर गाएपछि दसैँ गीतको चर्चित गीत बन्यो । भारतीय सेनामा रहेका रायमाझीका दाइ लक्ष्मण रायमाझीले भारत–पाकिस्तानको कार्गिलको लडाइँ सन् १९९९ ताका यो गीत लेखेका थिए । नेपाली जनजीवनलाई बोकेको यो गीत यथार्थमा पनि मन छुने बनेको छ ।

दसैँ नै हो कि यो मेरो दशा फर्किआएको…

यो गीत पनि दसैँको गीतमध्येको चर्चित गीत हो । योगेश्वर अमात्यको स्वरमा रहेको यो गीतमा दसैँ गीतकै फरक स्वाद पाइन्छ । बढ्दो महँगीले नेपाली समाजलाई पारेको असर यो गीतमा प्रस्तुत छ । न्यु बज्राचार्यको सङ्गीतमा रहेको यो गीतको शब्द गुमनाम जस्तै रहेका सर्जक प्रेम बस्नेतले लेखेका थिए । विसं २०५० ताका संवाद समेत हालेर बनेको यो गीत दसैँको परिचय जस्तै बनेको छ ।

यसपाली दसैँमा ठूलो दाजु आउने रे…

कुल पोखरेलको स्वरमा रहेको यो गीत दसैँसम्बन्धी गीतको अर्को चर्चित गीत हो । कूल पोखरेलको सम्झनामा अन्य गायकले पनि यो गीतको कभर गाएर युट्युबमा राखेका छन् । कुल पोखरेललाई दसैँमा मज्जाले सम्झाउने गीत हो यो । नेपाली गीत सङ्गीतमा फरक नामले परिचय बनाएका पोखरेलको यो गीत बालबालिकाले समेत खुब मन पराउने गरेका छन् ।

यो दसैँमा म घर आइन…

नेपाली लोकदोहोरी गीतमा दसैँ गीत भन्ने वित्तिकै यो गीतको सम्झना आइहाल्छ । एसएसएस म्युजिकले बजारमा ल्याएको यो गीतमा रेशम थापा र उद्धव कार्कीलाई सीता थापा र गीता कोइरालाले स्वरमा साथ दिएका छन् । लोकदोहोरी मन नपराउनेले पनि यो गीत दसैँ गीतको दोहोरीमा ऐतिहासिक गीतको रुपमा लिएका छन् । परदेशबाट घर फर्किन नसकेका नेपालीको पीडा यो गीतमा समेटिएको छ ।

रातो टीका दसैँको जमरा…

नेपाली चलचित्रमा पनि दसैँ तिहारको गीतले अत्यधिक चर्चा पाउने गरेको छ । मनमन्दिर चलचित्रमा रहेको यो गीतले पनि दसैँको झल्को ल्याउँछ । नायक राजेश हमाल र नायिका झरना थापाको नृत्य रहेको यो गीत अहिले पनि दसैँमा उत्तिकै बज्ने गर्दछ ।

दसैंँ आयो…

नेपाली चलचित्र मुग्लानमा रहेको दसैँं आयो गीत पनि दसैँमा अत्यधिक बज्ने गीतमा पर्दछ । पछिल्लो पुस्ताको युवामा यो गीत झनै चर्चित गीत हो । सुन्न मात्र होइन दसैंका कार्यक्रममा रमाइलोसँग यो गीतमा युवा पुस्ता नाचिरहेका हुन्छन् ।

वर्ष र दिनमा लै लै…

सुगम पोखरेलको स्वरमा रहेको यो गीत पनि युवा पुस्ताले औधी रुचाएको दसैँ गीत हो । रवि श्रेष्ठको शब्दमा तयार भएको यो गीतमा पनि स्रोताले दसैँ गीतको फरक स्वाद लिने गरेका छन् । दसैँमा मात्रै नभएर अन्य समयमा पनि यो गीत पोखरेलले विभिन्न कार्यक्रममा गाउने गरेका छन् । नेपाली परिवेशमा यो गीतमा पनि परदेशीको व्यथालाई पनि समेटिएको छ ।

थालैभरि रातो रातो अक्षता र पाती…

सुनिल गिरीको स्वर, सङ्गीत र शब्दमा आएको यो गीत पनि केही वर्षदेखि नियमित चर्चामा छ । रिकेस गुरुङ्गले एरेन्ज गरेको यो गीत युट्युबमा धेरैले मन पराएका छन् । दसैंमा लाहुरे फर्किएको र गाउँको रमाइलो क्षणहरु समेटिएको गिरीको यो गीत पनि दसैं गीतमा रुचाइएको गीत हो ।

दशैं तिहार आईसक्यो

दशैं तिहार आईसक्यो बोलको गित बिष्णु माझीको नया गीत हो । यस गितका स्वर बिष्णु माझीकै रहेको छ भने, शब्द, सङ्गीत सन्दुरमणि अधिकारीको रहेको छ । यो गीत पनि चर्चा कमाएको दसैँ गीत हो ।