राष्ट्रपतिले दशैंको टीका सर्वसाधारणलाई लगाइदिने, पूर्वराजाले नलगाइदिने

राष्ट्रपतिले दशैंको टीका सर्वसाधारणलाई लगाइदिने, पूर्वराजाले नलगाइदिने


ग्लोब नेपाल
54
Shares

काठमाडौं । राजतन्त्र कालमा सुरु भएको राष्ट्र प्रमुखले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने चलन गणतन्त्र कालमा पनि कायमै रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ । टीका र प्रसाद प्रदान कार्यक्रम भन्दै राष्ट्रपति कार्यलयले दुईथरि कार्यक्रम राखेको छ । विजया दशमीको दिन राष्ट्रपतिले दिउँसो दुईदेखि तीन बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ । तीनदेखि पाँच बजेसम्म सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम राखिएको छ ।

‘बडादशैं, २०७९ को अवसरमा मिति २०७९ असोज १९ गते बुधबार विजया दशमीका दिन सम्माननीय राष्ट्रपतिज्यूबाट देहाय बमोजिमको समय तालिकामा टीका प्रसाद प्रदान हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गणतान्त्रिक नेपालका राष्ट्र प्रमुखले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम सार्वजनिक गरे पनि पूर्व राजा ज्ञानेन्द्र शाहले भने, सर्वसाधारणलाई टीका नलगाउने घोषणा गरेका छन् । गणतान्त्रिक नेपालका राष्ट्र प्रमुखले जहाँबाट यो चलन सिके त्यो चलन चलाउने पूर्व राजा ज्ञानेन्द्रले भने यस पटक सर्वसाधारणलाई टीका नलगाइदिने बताएका हुन् ।

पछिल्लो समय बढिरहेको डेंगुको संक्रमणलाई कारण देखाउँलै उनले टिका नलगाउने बताएका हुन् । डेंगुकै कारण उनले यो दशैंमा शक्तिपीठहरुको दर्शन पनि नगर्ने बताएका छन् ।

यस वर्षको दशैंको टीकाको साइत बुधबार बिहान ११ः ५१ मा रहेको छ ।