निर्वाचन आचारसंहिता पालना गर्न उम्मेदवारलाई आयोगको आग्रह

निर्वाचन आचारसंहिता पालना गर्न उम्मेदवारलाई आयोगको आग्रह


ग्लोब नेपाल
54
Shares

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेद्वारी दिएका उम्मेद्वारहरू चुनावी प्रचारमा लागेका छन् । दलबाट तथा स्वतन्त्र रुपमा उठेका उम्मेद्वारहरू पनि आ-आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रीत भएर चुनावी प्रचारमा सक्रिय भएका हुन् ।

दलिय तवरले प्रतिस्पर्धामा रहेका नेताहरू आफ्नो क्षेत्रमा सभा सम्मेलन गर्ने, कार्यकर्ता भेटघाट गर्ने तथा आगामी रणनीति बनाउनमा व्यस्त रहेका छन् । कतिपय उम्मेद्वारले भने फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा आफ्नो प्रचार सुरु गरिसकेका छन् ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दल एवं उम्मेदवारलाई अनुरोध गरेको छ । यसैबीच निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारले जरिवाना बुझाएमा मनोनयन दर्ता कायम गर्न निर्देशन दिएको छ । आयोगले मनोनयनपत्रको जाँचबुझ गर्ने समयसीमा भित्रमा जरिवाना रकम बुझाएको निस्सा पेस गरेमा त्यस्ता व्यक्तिको मनोनयन कायम गर्न सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।

यस्तै आयोगले आचारसंहिता पालना गरे नगरेको बारेमा कडाइका साथ अनुगमन थालेको पनि जनाएको छ । आचारसंहिताको प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी विद्यालय तथा विश्वविद्यालयमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरू प्रचारप्रसारमा संलग्न भएको पाइएको भन्दै त्यसो नगर्न आयोगले सचेत गराएको छ ।