काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहले पार्टीलाई धोका दिएको आरोप लगाएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) सँगको चुनावी तालमेलको सम्झौता बैठकमा सहभागी भएर अन्तिममा साहलृ पार्टीलाई धोका दिएको आरोप लगाएका हुन् ।
एमाले स्थायी कमिटी सदस्य साहले जसपासँगको तालमेलप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका हुन् । नेता साहले सत्ता गठबन्धनसँगको साँठगाँठ गरेको महासचिव पोखरेलको दावी छ ।
‘प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनु भो ।उक्त सहमतिपश्चात मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नु भो । निर्णयभएर अनुसार रौतहटको टिकट पनि लिएर जानु भो । तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफूले स्वतन्त्र उम्मेदवारी दिनु भो र अन्य क्षेत्रका उम्मेदवारको टिकटसमेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो ,’ महासचिव पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतिको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठबन्धनका नेतासँगको षडयन्त्रपूर्ण साँठगाँठ नै हो ।’
उनले साहको षड्यन्त्रलाई रौतहटबासीले बुझेको दावी गरेका छन् । साथै उनले एमाले र जसपाबीचको चुनावी तालमेल कायमै रहेको पनि बताएका छन् ।
‘रौतहटका जनताले यस षड्यन्त्रलाई राम्ररी नै बुझेका छन् । मधेस प्रदेशमा नेकपा (एमाले) र जसपाबीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रूपमा सफल बनाऔँ,’ महासचिव पोखरेलले भने ।
मधेश प्रदेशमा एमाले र जसपाबीच चुनावी तालमेल भएको हो । एमालेले १७ प्रतिनिधिसभा र ३५ वटा प्रदेश सभामा जसपालाई समर्थन गरेको छ भने जसपाले ३५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एमालेलाई समर्थन गरेको छ ।
तर एमाले नेता साहले जसपासँगको तालमेलप्रति असन्तुष्टि जनाउँदै जसपालाई समर्थन गरेका निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठाएका हुन् ।
उनले पार्टीका टिकट च्यातेर स्वतन्त्र उम्मेदवारी दिएपछि एमाले र जसपाबीचको चुनावी तालमेल नै संकटमा परेको चर्चा हुन थालेको छ ।
प्रतिक्रिया