काठमाडौं । नेकपा एमालेले अन्तिम समयमा प्रतिनिधिसभाका ३ र प्रदेश सभाका १ जना उम्मेदवार फिर्ता गरेर अन्य समूहसँग तालमेल गरेको छ । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन पार्टीले नेपाली काँग्रेस विपी, बिद्रोही काँग्रेस, राप्रपा र ह्रृदयेश त्रिपाठीसँग सहकार्य गरेको हो ।
डडेलधुरामा नेपाली काँग्रेस विपीका कर्ण मल्ललाई समर्थन गर्दै प्रतिनिधिसभामा चक्रबहादुर स्नेहीको उम्मेदवारी फिर्ता लिइएको छ । मल्ल देउवा विरुद्ध चुनाव लड्दै छन् । त्यस्तै, जनता प्रगतिशील पार्टीका ह्रृदयेश त्रिपाठीलाई समर्थन गर्दै सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी फिर्ता भएको छ । त्रिपाठी गठबन्धनका उम्मेदवार विनोद चौधरीसँँग चुनाव लड्दै छन् । त्यस्तै चितवन क्षेत्र नम्बर ३ मा रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर काँग्रेसका बागी उम्मेदवार शेखर गगन समूहका दिनेश कोइरालालाई समर्थन गरेको छ ।
सो समूहले क्षेत्र नम्बर १ र २ मा एमालेका उम्मेदवारलाई समर्थन गर्ने बताइएको छ । धादिङ २ मा भने राप्रपाले एमालेलाई प्रतिनिधिसभामा समर्थन जनाएको छ भने प्रदेशमा एमालेका धनबहादुर घलेको उम्मेदवारी फिर्ता लिएर राप्रपाका डम्बर घलेलाई समर्थन जनाएको छ ।
प्रतिक्रिया