काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार नभएको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ ।
शुक्रबार साँझ अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले विज्ञप्ति जारी गर्दै जोशीलाई पुरानो रोगले ग्रसित पारेका कारण औषधिले काम नगरेको जनाएका छन् । उनले जोशीको पछिल्लो अवस्थाबारे जानकारी दिँदै भनेका छन्, ‘समग्रमा जोशीज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकोले अवस्था चिन्ताजनक रहेको छ ।’
जोशी लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट गुज्रिरहेका थिए। उनमा कमजोरी देखिएका कारण असोज ७ गते इमर्जेन्सीमा ल्याई भर्ना गरी उपचार सुरू गरिएको थियो। उनको रगत परीक्षण गर्दा डेंगी संक्रमण देखिएको, छातीमा निमोनियाको संक्रमण साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कमी भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको अस्पतालले जनाएको छ।
‘उहाँलाई पहिल्यैदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएता पनि शरीरले राम्रो रेस्पोन्ज नगरेको र आजदेखि Albumin replacement गर्नका लागि उहाँलाई औषधि चलाइएको छ’, अस्पतालले जारी विज्ञप्तिमा भनिएको छ।
साथै छातीमा निमोनियाको संक्रमण र पिसाबमा इन्फेक्सन भएकाले एन्टिबायोटिक्स दिइरहेको अस्पतालले जनाएको छ।
प्रतिक्रिया