ललितपुर क्षेत्र नं. २ मा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र प्रदेशमा दुवै उम्मेदवार कांग्रेसले उठाएको छ । प्रदेश (क) मा रिसा श्रेष्ठ उम्मेदवार बनेकी छन् भने (ख) मा रामकृष्ण चित्रकार चुनावी मैदानमा छन् । कांग्रेसका यी दुवै उम्मेदवार युवा मात्र छैनन्, नेपाली कांग्रेसको छवी उज्वल बनाउँदै राष्ट्रका लागि योगदान दिन उत्साहित देखिन्छन् ।
प्रदेश (क) मा महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाको १७ नम्बर वडा पर्दछ । हालै सम्पन्न स्थानीय निर्वाचनमा खसेको मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेस अन्य राजनीतिक दलभन्दा धेरै अगाडि देखिएको छ । कांग्रेसले ९ हजार २ सय ९७ मत, एमालेले ८ हजार ६ सय ५२, माओवादी केन्द्रले ३ हजार ९ सय २७, राप्रपाले २ हजार ४ सय ९८ र नेकपा (एस)ले १ हजार ६ सय २३ मत प्राप्त गरेको छ ।
२०७४ को निर्वाचनमा यो प्रदेशबाट वाम गठबन्धनका उम्मेदवार माधवप्रसाद पौडेल १४ हजार ५ सय ३४ मत ल्याएर विजयी भएका थिए । त्यसबेला कांग्रेसका उम्मेदवार पवनविक्रम थापाले ८ हजार १ सय ४५ मत प्राप्त गरेर उपविजयी भएका थिए ।
यसपटकको निर्वाचनमा यो प्रदेशबाट रिसासँगै एमाले उम्मेदवार रामेश्वर श्रेष्ठ, राप्रपाबाट धनराम केसी र स्वतन्त्रलगायत ९ जना चुनावी मैदानमा छन् । यसपटक एमाले एक्लै चुनावी मैदानमा भिडेको छ भने कांग्रेस उम्मेदवारलाई माओवादी केन्द्र र नेकपा समाजवादीले साथ दिएको छ । स्थानीय निर्वाचनको मतलाई विश्लेषण गर्ने हो भने कांग्रेस अर्थात् रिसाको पक्षमा १४ हजार ८ सय ४७ मत पर्ने देखिन्छ भने एमालेसँग ८ हजार ६ सय ५२ र राप्रपाले २ हजार ४ सय ९८ मत प्राप्त गर्ने देखिन्छ ।
गठबन्धनबाट उम्मेदवार बनेकी रिसा के एजेन्डा बोकेर जनतामाँझ जाँदैछिन् ? यस विषयमा ग्लोब नेपालले गरेको कुराकानीको सम्पादित अंश यस्तो छ–
० राजनीतिक पृष्ठभूमि बताइदिनुस न ?
– २०५६ सालदेखि नेपाल विद्यार्थी संघ (नेविसंघ) को जिल्ला सदस्यबाट राजनीतिमा आएकी हुँ । २०६० सालमा पद्मकन्या क्याम्पसमा स्ववियु सदस्य हुँदै इकाइ सचिव र इकाइ सभापति भएर २०६५ मा कलेजबाट बिदा भएँ । नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा जिल्ला सदस्य, त्यस अवधिमा महिला संघमा पनि आबद्ध भएँ । महिला संघमा केन्द्रीय प्रतिनिधि, आदिवासी जनजाति विभागमा केन्द्रीय सदस्य भएर काम गर्ने अवसर पाएँ । पार्टीको १४ औं महाधिवेशनले मलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिको रुपमा छनोट ग-यो ।
० अहिले प्रदेश उम्मेदवार ?
– हो, पार्टीले मलाई ललितपुर क्षेत्र नं. २ (क) बाट प्रदेश उम्मेदवार बनाएको छ ।
० कस्तो छ परिस्थिति ?
– परिस्थिति राम्रै छ, यसकारणले राम्रो भयो कि– यो क्षेत्रमा ५४ प्रतिशत महिला र १८ प्रतिशत युवा मतदाता हुनुहुन्छ । ५४ प्रतिशत महिलाले यो निर्वाचन क्षेत्रबाट पहिलो पटक महिला उम्मेदवार पाउँदा उहाँहरु खुशी हुनुहुन्छ । युवा साथीहरु पनि एकदमै खुशी हुनुहुन्छ । युवा उम्मेदवार हुनुहुँदो रहेछ, अब केही हुन्छ भन्ने भनाइ उहाँहरुको छ ।
० के मुद्दा लिएर जनतामाँझ जाँदै हुनुहुन्छ ?
– मैले बोक्ने भनेको नेपाली कांग्रेसको एजेन्डा हो । पार्टीले तय गरेको एजेन्डा बोकेर म जनताको घर दैलोमा जाँदैछु । त्यसबाहेक महिला र शिक्षा क्षेत्रमा मेरो रुचि छ । यो क्षेत्रका महिलाहरु अझ सशक्त बनाउनुपर्छ भन्ने मलाई लागेको छ । विद्यार्थी राजनीतिबाट आएकी हुँ, शिक्षाको क्षेत्रमा मैले यहाँ केही गर्नुपर्छ भन्ने लागेको छ । यसो भन्दैगर्दा जेष्ठ नागरिकलाई उपेक्षा गर्न सकिँदैन । उहाँहरुका लागि मैले झनै धेरै गर्नुपर्नेछ ।
० विकास निर्माणको क्षेत्रमा केही छैन ?
– यो क्षेत्र अन्यको तुलनामा विकसित नै छ, तर यहाँको मूल समस्या पिउने पानी हो । त्यसका लागि महानगरपालिका र मेरो प्रदेशमा लाकुरीको खानेपानी श्रोतलाई व्यवस्थापन गर्न सकियो भने केही हदसम्म यहाँका जनतालाई पिउने पानी सहज ढंगले उपलब्ध गराउन सकिन्छ । यो क्षेत्रमा पिउने पानी व्यवस्थापन मेरो प्राथमिकताको क्षेत्र हो । सँगसँगै बीपी राजमार्गसँग इमाडोललाई जोड्ने योजना छ । लामाटारसम्म काम सम्पन्न भइसकेको छ, लामाटारबाट लाकुरी भञ्ज्याङसम्म लामो समयदेखि जोड्न सकिएको छैन । यसलाई छिटोभन्दा छिटो पूरा गर्नुछ । कृषि, पर्यटन र उद्योगको क्षेत्रमा पनि यहाँ धेरै गर्न बाँकी छ । त्यसका लागि पार्टीको घोषणापत्र र मेरा निजी योजनालाई समिश्रण गरी काम गर्ने अठोट लिएकी छु ।
० कांग्रेसले कांग्रेसलाई नै हराउने रोग यो निर्वाचन क्षेत्रमा छैन ?
– बाहिर यो भनाइ लोकप्रिय होला, तर हाम्रो यो निर्वाचन क्षेत्रमा त्यस्तो छैन । कांग्रेसभित्र अहिले एकदमै राम्रो महोल बनेको छ । हाम्रो पार्टीको सबै तह र तप्काबाट मलाई सहयोग पुगेको छ । कहिलेकाहिँ को–अर्डिनेशन मिस हुँदा त्यस्तो भयो होला, तर सबैको आर्शिवाद, साथ र सहयोग मैले पाइरहेको छु ।
० यो निर्वाचन क्षेत्रमा कांग्रेस आफै कमजोर होइन र ?
– होइन, यो निर्वाचन क्षेत्रमा कांग्रेस बलियो छ । तर कहिलेकाहिँ को–अर्डिनेसन ग्याप र उम्मेदवार छनोट गर्दा प्रकृया गलत अपनाइयो भने समस्या हुने हो ।
० यसपटक पनि को–अर्डिनेसन ग्याप भयो होला नि ?
– काम गर्दैजाँदा कहिलेकाहिँ को–अर्डिनेसन ग्याप हुँदो रहेछ । तर, यसपटक भएको छैन भन्ने मलाई लागेको छ । टिकट पाइसकेपछि सबैभन्दा पहिले मैले मेरा अग्रज नेताहरुसँग सल्लाह र सुझाव र आर्दिवाद मागें । मैले टिकट पाएपछि धेरै साथीहरु उत्साहित हुनुभएकाे छ । यो निर्वाचनमा धेरै साथीहरु कहाँ भोट होल्ने ठाउँ भएन भने हामी के गर्ने भन्ने अवस्था थियो । तर, त्यो अन्योल अहिले हटेको छ ।


प्रतिक्रिया