काठमाडौं । ओखलढुंगाबाट विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि बाहिरिएका मतदातालाई जिल्ला फर्काउन गठबन्धनका उम्मेदवारहरु लागेका छन् । संघीय निर्वाचनमा गठबन्धनबाट नेपाली कांग्रेसका रामहरि खतिवडा, प्रदेश (क) मा प्रदीप सुनवार र (ख) मा माओवादी केन्द्रका बाबुराम गौतम उम्मेदवार बनेका छन् ।
उनीहरुले गत विहीबार काठमाडौंमा बसोबास गरिरहेका ओखलढुंगाका मतदाताहरुको वृहत भेला गरी मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनमा सहभागी भइ गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अनुरोध गरे । सम्मुन्त ओखलढुंगा, समृद्ध ओखलढुंगा र उज्यालो ओखलढुंगा बनाउने हो भने गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन उनीहरुले आग्रह गरे । कार्यक्रम संयुक्त गठबन्धन निर्वाचन प्रचार प्रसार समिति ओखलढुंगाले आयोजना गरेको थियो ।
यस्तै भेला हिजो आइतबार प्रदेश १ को व्यापारिक केन्द्र इटहरीमा आयोजना गरिएको थियो । संघीय संसदको उम्मेदवार खतिवडाले भने, ‘घर–घरमा सबैलाई भेट्न सकिएन, यसलाई निम्तो मानेर मंसिर ४ गतेको निर्वाचनमा सहभागी भएर गठबन्धनलाई विजयी गराउन अनुरोध गरें ।’ उनले यदि गठबन्धनले जित्यो भने घुर्मी–चतरा हुँदै प्रदेश एकको राजधानी आउने बाटो पाँच वर्षमै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘गत निर्वाचनमा जितेर जाने साथीहरुले वर्षमा दुई पटक संसद विघटन गरेर जिल्लामा जिन्दावाद र मुर्दावादको नारा मात्र लगाए’ खतिवडाले भने, गठबन्धनले जित्यो भने, ‘म ओखलढुंगे आमाले जन्माएको छोरो हुँ, छोराले आमालाई माया गरेजस्तै म ओखलढुंगालाई माया गर्छु ।’
ओखलढुंगाको स्थानीय पालिकामा ७५ वडा छन्, प्रत्येक वडामा एक दिन कार्यक्रम गर्ने हो भने ७५ दिन लाग्छ, हामीसँग समय थोरै छ, त्यसैले उम्मेदवारले भेटेन भन्ने गुनासो नआओस् भनेर हामीले जिल्ला बाहिर रहेका साथीहरुलाई मतदानमा सहभागी भइ गठबन्धनलाई जिताउन आग्रह गर्दै हिडेका छौं, खतिवडाले भने, ‘जिल्ला बाहिर रहनु भएका मतदातालाई मतदानस्थलसम्म पुग्ने वातावरण बनाउन म अग्रज साथीहरुसँग अनुरोध गर्छु ।’
जिल्लामा सबै ठाउँमा बाटो छैन, पिउने पानी छैन, अस्पताल छैन त्यसैले ओखलढुंगा छोड्नु परेको बाध्यता मैले बुझेको छु, खतिवडाले भने, ‘तपाईंहरुले गठबन्धनको उम्मेदवारलाई जिताउनु भयो भने यी पूर्वाधार निर्माणका लागि म लागिपर्नेछु ।’ जिल्ला बाहिर रहेका सम्पूर्ण मतदाता मंसिर २ गते अघि नै ओखलढुंगा पुग्न उनले पटक पटक अनुरोध गरे ।
यस्तै कार्यक्रम आज सोमबार पोखरामा पनि आयोजना भएको छ । उक्त कार्यक्रममा पनि गठबन्धनका उम्मेदवारहरुले मंसिर ४ गतेको निर्वाचनमा सहभागी हुन अनुरोध गरेका थिए । अब भने जिल्ला केन्द्रीत भएर ओखलढुंगे जनताको घर आँगनमा पुग्ने प्रतिनिधि सभाका उम्मेदवार रामहरि खतिवडाले बताए ।


प्रतिक्रिया