रुपन्देही-२ मा सत्ता गठबन्धन उम्मेदवार विहीन !

रुपन्देही-२ मा सत्ता गठबन्धन उम्मेदवार विहीन !


ग्लोब नेपाल
351
Shares

काठमाडौं । सत्तारुढ पाँचदलिय गठबन्धन रुपन्देही प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारविहीन बनेको छ ।

गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले उक्त क्षेत्रमा राजु गुरुङलाई उम्मेदवार बनाएको थियो । उनको उम्मेदवारीविरुद्ध उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले चेक बाउन्स प्रकरणमा उच्च अदालत पाटनमा मुद्दा चलिरहेको भन्दै गुरुङको उम्मेदवारी बदर गरेको थियो।

आफ्नो उम्मेदवारी बदर गर्ने मुख्य निर्वाचन अधिकृत कार्यालयको निर्णयविरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आइतबार उम्मेदवारी बदर गर्ने निर्णय कार्यान्वयन नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

अन्तरिम आदेश जारी हुने/नहुने सन्दर्भमा दुवै पक्षसँगको छलफलपछि शुक्रबार न्यायाधीशहरु कुमार रेग्मी र ईश्वर प्रसाद खतिवडाको इजलासले गुरुङको पक्षमा यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ । यससँगै अब उनको उम्मेदवार हुने ढोका बन्द भएको हो।

सर्वोच्चको पछिल्लो आदेशपछि गुरुङको उम्मेदवारी खारेज गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णय स्वतः कार्यान्वयन हुने भएको हो। यससँगै सत्तारुढ पाँचदलिय गठबन्धन रुपन्देही प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारविहीन बनेको छ ।

रुपन्देही–२ मा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन्। गठबन्धनका उम्मेदवार गुरुङको उम्मेदवार बदर भएपछि पौडेललाई सहज हुने भएको छ।