धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनमा रहेका दलका कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मात्रै मत दिनुपर्ने बताएका छन्।
सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई धनगढीमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले आफ्ना चुनाव चिन्हमा मात्रै भोट हाल्छु भन्ने कुरा नगर्न गठबन्धनका अन्य दललाई आग्रह गरे ।
‘म काँग्रेसको हुँ भनेर रुखबाहेक अरुमा भोट हाल्दैन भनेर हुदैन,’ अध्यक्ष नेपालले भने, ‘म माओवादीको, म समाजवादीको हुँ भनेर आफ्ना चुनाव चिन्हमा मात्रै भोट हाल्छु भन्ने कुरा हुदैन।’ गठबन्धन देशको विकासमा लागि बनेकाले गठबन्धनले जित्नुपर्ने उनले बताए। यस्तै सुदूरपश्चिममा गठबन्धन सफल बनाउनुपर्ने उनको भनाइ छ।
उनले एमालेले संविधान विरोधीहरुसँग गठबन्धन गरेको आरोप लगाए । ‘एमाले प्रगति र परिवर्तनको बाधक भएको थियो । त्यसैले हामीले विद्रोह गरेका हौं । गठबन्धन दलका उम्मेदवारलाई जिताउन लाग्नुहोस् । मित्रवत् प्रतिस्पर्धा भएको ठाउँमा कलमलाई हेर्नुहोला । अन्य ठाउँमा गठबन्धनको उम्मेदवारलाई जिताउनु होला’, उनले भने।
प्रतिक्रिया